बोक्सीको आरोमा ६ घण्टासम्म कुटपिट गर्ने भोलेबाबा यौन पिपासु भएको खुल्यो, मेयर र प्रहरीमाथि पनि कारबाही (भिडियोसहति)

कैलाली । कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने आफूलाई भोलेबाबा बताउने रामबहादुर चौधरीले युवतीहरुमाथि यौन शोषण गर्दै आएको रहस्य खुलेको छ । २३ वर्षिय चौधरीले दुई महिनादेखि भगवानको अवतार मिलेको भोलेबाबा हुँ भन्दै स्थानीयबासीलाई भ्रममा पारेर आफ्नो स्वार्थ पूर्ति गर्दै आएका थिए । विहिबार बोक्सीको आरोपमा १८ वर्षिया युवति राधा चौधरीलाई उनले निर्घात कुटपिट गरेका थिए ।

राधालाई पिट्न यौन पिपासु झाक्री रामबहादुरलाई सघाउने अफूलाई पार्वती माता भएको बताउने किस्मती चौधरी समेत उनले आश्रममा लगेर राखिएककी एक युवती हुन् । रामबहादुरको आश्रममा अहिले पनि चार जना युवती रहेको स्थानीयबासीहरु बताउँछन् । रामबहादुर र किस्मती मिलेर राधालाई ६ घण्टासम्म निर्घाट कुटपिट गरेका थिए ।

उक्त काण्डपछि फरार रहेकी किस्मती उर्फ पार्वती पक्राउ परिसकेकी छन् । गाउँका राम्री युवतीहरुलाई विभिन्न वहानमा आश्रममा लगेर यौन शोषण गर्ने रामबहादुरलाई प्रहरीले पक्राउ गरेको भएपनि स्थानीयबासीको दबाबमा छाडिएको थियो । झारफुक गर्ने नाममा युवतीहरुको संवेदनशिल अंगमा समाउन र निको पार्न १५ दिन आफ्नै आश्रममा बस्नु पर्ने भन्दै उनलै राम्री युवतीहरुलाई यौन शोषण गर्दै आएका छन् ।

एउटी निर्दोष महिलामाथि कुटपिट गर्दा समेत त्यहाँ वरपर रहेका झण्डै एक सय जना भन्दा बढि व्यक्तिहरु मजाले हेरिरहेका थिए । कसैले पनि ति युवतिमाथि कुटपिट गर्नु हुँदैन भनेर आवाज उठाउने हिम्मत गरेनन् । २१ औं शताब्दिमा पनि बोक्सीको आरोपमा कुटपिट हुँदा समेत गाउँलेहरु भने रमिते नै बनिरहेका थिए ।

यसैबीच झाँक्रीलाई छुटाउन पहल गरेको आरोपमा घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरीबाट दोषी छुटाउनेहरुलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री कार्यालयले समेत कैलाली जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

गत विहीबार स्थानीय युवती राधा चौधरीमाथि झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेका थिए । मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत हुन् ।

पार्टीले चौधरीसँग मौखिक स्पष्टीकरण लिइसकेको र अब छानविन कमिटी गठन गरी थप प्रक्रिया अघि बढाउने जिल्ला इन्चार्ज तथा कैलाली २ का सांसद झपट रावलले जानकारी गराएका छन् ।

यसैवीच, प्रधानमन्त्री कार्यालयले समेत आइतबार एक प्रेस नोट जारी गर्दै प्रहरीबाट अपराधीहरु छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न सिडियो कार्यालयलाई निर्देशन दिएको छ ।

अपराधीलाई छुटाउने कार्यमा मेयरको संलग्नबारे पार्टीका उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक भीम रावलले चासो राखेपछि जिल्ला कमिटी बैठक बस्न लागेको हो । जिल्ला कमिटीबाट ३ सदस्यीय छानविन कमिटी गठन गर्न लागिएको अध्यक्ष दीर्घ सोडारीले बताए ।

यता, बोक्सीको आरोपमा कुटपिट भएको घटनामा सुखड प्रहरी प्रसासनले चासो नदिएको पाइएपछि जिल्ला प्रहरी कार्यालयले स्पष्टीकरण मागेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बोक्सीको आरोपमा कुटपिट गर्ने भोले बाबालाई जिम्मा जमानीमा छाडि घटनालाइ कानुनी प्रक्रियामा नल्याएको पाइएपछि ईलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख दिनेश बिष्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

घटनाको बारेमा राष्ट्रियस्तरमै चर्चा भएपछि प्रहरीले बल्ल कार्वाही र अनुसन्धानको प्रक्रिया समेत शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनाको अनुसन्धान भैरहेको बताए ।

इलाका प्रहरी कार्यालय सुखडले घोडाघोडी नगरपालिकाका मेयर चौधरी, वडाअध्यक्ष प्रेम रोकाया र पिडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा भोलेबाबा उर्फ राम बहादुर चौधरीलाई बिहिबार नै पक्राउ गरि सोही दिन छाडेको थियो।तर, घटना मिडियामा आएपछि भोलाबावालाई इलाका प्रहरी कार्यालय सुखडले पुन पक्राउ गरि शुक्रबार जिल्ला प्रहरी कार्यालय चलान गरेको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले युवती कुटपिट गर्नेलाई बोक्सीको आरोप अन्तरगत नै मुद्धा दर्ता गर्ने तयारी भइरहेको बताए। 

यसैवीच, बोक्सीको आरोपमा कुटपिट गरिएकी राधाको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

https://www.youtube.com/watch?v=UuoYLT-oHNA

Comments

Top