गण्डकी मिनी मार्केटको जग्गा विवाद , ५ वर्षेदेखि सरकारी जग्गामा व्यापारीको हालिमुहाली

gandakijagga

 यदनाथ बन्जरा/ कास्की । कृषि विकास बैंकको नाममा रहेको नयाँ बजार पोखराको साढे ५ रोपनी जग्गा विगत ५ वर्ष देखि व्यापारीहरुले नियन्त्रणमा लिएर गण्डकी मिनी मार्केट चलाउँदै आएका छन्। कृषि विकास बैंक चिप्लेढुंगा शाखाको भवन निर्माणको लागि तय गरिएको जग्गामा व्यापारीहरुले कब्जा जमाएपछि बैंक मासिक ५४ हजार ४ सय पचास भाडा तिरेर बस्न बाध्य भएको छ।

 बैंकको नाममा रहेको जग्गा २०६९ साल चैत्र देखि व्यापारीहरुले टहरा बनाएर व्यापार गर्दै आएका छन्। राज्यको सम्पती प्रयोग गर्दा पनि उनीहरुले आजसम्म कति पनि भाडा बुझाएका छैनन्। २०६९ सालमा तत्कालिन पोखरा उपमहानगरपालिकाले अव्यवस्थित फुटपाथ व्यापार हटाएपछि खाली रहेको कृषि विकास बैंकको उक्त जग्गामा बसेका ति व्यापारीहरुले अहिलेसम्म पनि ठाउँ छोड्न मानेका छैनन्। कृषि विकास बैंक क्षेत्रीय कार्यालय पोखराले आफ्नो भवन बनाउनका लागि जग्गा खाली गर्न पटक पटक सूचना प्रकाशन गरेको बताएको छ।

 आफ्नो कार्यालय बनाउने सम्पूर्ण तयारी भएर पनि जग्गा खाली नहुँदा समस्या परेको क्षेत्रीय प्रबन्धक राम बस्नेतले बताए। आफ्नो नामको जग्गा कार्यालयलाई जानकारी नै नदिई बर्षाै सम्म ओगटिदिदा बैंकको काममा बाधा पुगेको र यस बारेमा पटक पटक छलफल र निर्णय हुँदा पनि कार्यान्वयन हुन नसकेकोमा क्षेत्रीय प्रबन्धकले दुःख व्यक्त गरे।

   सरकारी जग्गा भाडा नै नतिरीकन वर्षौ सम्म बस्नेहरुले संगठन नै बनाएका छन्। गण्डकी मिनी मार्केट बजार व्यवस्थापन समिति नाम दिएको उक्त संगठनमा अध्यक्ष बम बहादुर कार्कीले आफूहरुलाई नगरपालिकाले २०६९ सालमा फुटपातबाट उठाएर अर्को व्यवस्था नभएसम्म यहाँ बजार राख्न सम्झौता भएको दावी गरे। तर, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कृषि विकास बैंकको उक्त जग्गामा व्यापारीलाई राख्ने बारे कुनै सम्झौता नभएको बताए । उनले भने- हामीसँग केही कागज छैन, उनीहरु  कागज प्रमाण लिएर आए छलफल गर्न सकिन्छ ।

   यता कास्कीका सिडिओ तारानाथ अधिकारी जग्गा धनी कृषि विकास बैंक र स्थानीय सरकार महानगरपालिकाले  ठाउँ खाली गराइदिने बताउछन्।  त्यसको लागि कानुनी प्रकृया पूरा गर्नुपर्ने सिडिओ अधिकारीले बताए। सरकारी जग्गामा बर्षौं देखि बस्दै आएकाहरुले अहिलेको रुलिङ पार्टीका नेताहरुको संरक्षण पाएको पनि चर्चा चलेको छ। १ सय भन्दा बढी स्टल रहेको मिनी मार्केटबाट उठेको भाडा कहाँ सम्म पु-याएको छ भन्ने बारेमा सत्य तथ्य कुरा बाहिर आउन जरुरी छ।

 व्यापारीहरुसँग मासिक ५ देखि ७ हजार सम्म भाडा उठाइने गरेको स्रोतले बतायो । तर मार्केटका अध्यक्ष बमबहादुर कार्की प्रति स्टल ७५० मात्र प्रति महिना उठाइएको दावी गर्छन् । 'राज्यले न्यायोचित ढंगले हाम्रो व्यवस्थापन गर्नुपर्छ।' - कार्कीले बताए । तर, महानगरका प्रमुख भन्छन् - 'हाम्रा लागि सबै नागरिक समान छन् ,कसैलाई काखी च्यापेर व्यवस्थापन गर्न सकिदैन। '

 राजनीतिक दलले संरक्षण गर्ने हो भने सिंहदरबारबाट भनेका सुशासन कागजी घोडा सिवाय केही हुन सक्दैनन्। कृषि विकास बैंकले आफ्नो स्वामित्व संरक्षण र उपयोग गर्न तत्काल पहल थाल्न जरुरी रहेको सरोकारवालाहरुले दावी गरेका छन्।

 

Comments

Top