प्रधानमन्त्री ओलीलाई गृहमन्त्रीले गरे स्वागत, समकक्षी मोदीसँग अाजै संक्षिप्त भेटवार्ता 

oli in indiaकाठमाडौं । तीन दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा सिंहले स्वागत गरेका हुन्। ओलीको स्वागतमा गृहमन्त्री सिंहसहित वित्तराज्यमन्त्री शिवप्रताव शुक्ला, अर्थराज्यमन्त्री शिवप्रताप शुक्ल विदेश मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका थिए। त्यस्तै भारतका लागि नेपाली कार्यवाहक राजदूत भरतराज रेग्मीसहितको टोली पनि विमानस्थल पुगेको थियो।

प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

काठमाडौंबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहितको सरकारी टोली ५४ बनेको छ। नेपाल वायु सेवा निगमको चार्टर उडानबाट शुक्रबार बिहान दिल्ली पुगेका हुन्। प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरु र अन्य सल्लाहकारलगायत छन्। परराष्ट्रमन्त्री ज्ञवाली शुक्रबार नै अजरबैजानबाट दिउँसो तीन बजे दिल्लीमा आउनेछन्।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नै समकक्षी मोदीसँग संक्षिप्त भेटवार्ता गर्नेछन्। उक्त भेटमा शनिबारको औपचारिक छलफलमा हुने विषयहरु केही तय हुनसक्ने अधिकारीहरुले बताएका छन्। उनले आजै भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई पनि भेट्ने कार्यक्रम छ। उनी प्रतिपक्ष दलका नेता समेत हुन्। दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओली पहिलो विदेश भ्रमणमा भारत गएका हुन्।

Comments

Top