सुन तस्करीका बादशाह गोरेको ‘सुन स्टोर’मा प्रहरीको छापा

goreकाठमाडौं । फागुन पहिलो साता तस्करी गरी ल्याइएको साढे ३३ केजी सुन गायव र भरिया सनम शाक्यको पनि हत्या हुँदा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेस लोहनीसहित तीन जना हेटक्वार्टर तानिएपछि गृहमन्त्रालयको समन्वयमा प्रहरीले सोही ३३ केजी सुनका असली मालिक गोरे भन्ने चुँडामणी उप्रेतीको ‘सुन स्टोरमा’ छापा मारेको छ ।
गृह मन्त्रालयले गठन गरेको सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितीले गोरेले सुन स्टोर गर्ने भनिएको पुरानो बानेश्वरस्थित एक घरमा छापा मारेको हो । सुन गायव हुनु र शाक्यको हत्यासँगै प्रहरीको भूमिकामाथि नै प्रश्न उठाउँदै गृहमन्त्रालयले नै छानविन समिति गठन गरी छापा मारेको हो ।

गृहले शुक्रबार नै सादा पोशाकका प्रहरी लिएर पुरानो बानेश्वरमा रहेको एक घरको दुईओटा कोठामा छापा मारे पनि उक्त विषयमा भने मन्त्रालयले अझै केही जानकारी गराएको छैन । गृह मन्त्रालय एसएसपी लोहनीले सुन तस्कर गोरेसँग भित्रभित्रै साँठगाँठ गरेको भन्दै उनलाई हेडक्वार्टर तान्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । लोहनी हेडक्वार्टर तानिएसँगै गृहले छानविन प्रक्रियालाई अगाडि बढाएको हो ।

सुन तस्करी गरेको रकमले काठमाडौँको गौरीघाटमा आलिसान महल बनाएका उप्रेतिले बानेश्वरमा सुन स्टोर गर्नका लागि लिएको दुईओटा कोठाबाट सुनका बिस्कुट बोक्न प्रयोग हुने वेस्टकोट र पैसा गन्ने मेशिन नै फेला परेको बताइएको छ ।
प्रहरीका अनुसार उक्त वेस्टकोटमा दश ओटा सुनका बिस्कुट सुरक्षित रुपमा लुकाएर लगाउन सकिन्छ । बैंक तथा वित्तिय संस्थामा मात्र हुने पैसा गन्ने मेसिन पनि गोरेको सुन स्टोरमा भेटिएपछि छानविन समितिका सदस्यहरु नै अचम्मित बनेका छन् । प्रहरीले त्यहाँबाट फरक–फरक ब्यक्तिको नाममा एकैपटकमा ७० लाख ८५ हजारसम्म बैंक डिपोजिट गरेको बैंक भौचर समेत भेटेको जनाइएको छ ।

यसैबीच तस्करीको ३३ किलो सुन प्रकरणमा संलग्न थप १० जनालाई छानविन समितिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बिहीबार र शुक्रवार काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको स्रोतको दावी छ ।

समितिमा अपराध अनुसन्धान विभागका डिआइजी पुष्कल रेग्मी, अपराध अनुसन्धान विभागका एसएसपी बसन्त लामा, विशेष ब्युरोका डिएसपी सुदीप पाठक, केन्द्रिय अनुसन्धान ब्युरोका इन्सपेक्टर भिष्म हुमागाई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रायलका उप–सचिव भविश्वर पाण्डे र कानुन अधिकृत भोजराज दाहाल सदस्य छन् ।

तर, प्रहरीले गोरेलाई भने अझै पक्राउ गर्न सकेको छैन । स्रोतका अनुसार प्रहरीले नै सूचना चुहाएर गोरेलाई भगाएको बताइएको छ ।
यता, गोरेसँग सेटिङ मिलाएका एसएसपी लोहनी भने हेटक्वार्टर तानिएपछि अनुसन्धान तिव्र रुपमा अगाडि बढेको गृह स्रोतको दावी छ । लोहनीलाई कारबाहीबाट जोगाउन आईजीपी प्रकाश अर्याल नै लागिपरेको समाचार बाहिर आएपछि गृहले नै छानविन अगाडि बढाएको हो ।

तस्करीको ३३ केजी सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएका भरिया शाक्यको फागुन १८ गते उर्लाबारीमा हत्या भएको थियो । अपराध महाशाखा र मोरङ प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा काभ्रेका टेकराज मल्ल, उर्लाबारीकै नरेन्द्र कार्की, मोहन काफ्ले र झापाका लाक्पा शेर्पालाई पक्राउ गरेको थियो । तर, उनीहरु निर्दोष रहेको र गोरेको डिजाइनमा फसाइएको रहस्य बाहिर आएपछि प्रहरीको मिलेमतो रहेको खुलेको थियो ।
सुन बोकेका भरियाको हत्या हुँदा समेत ३३ केजी सुन कहाँ छ भन्ने बारेमा अहिलेसम्म प्रहरीले सुईको पाउन नसक्नुलाई ठूलो कमजोरी वा प्रहरीकै संलग्नता रहेको स्पष्ट देखिन्छ ।

Comments

Top