आईजीपीको रेसमा सर्वेन्द्र खनाल अगाडि , बढुवाको तयारी गर्दै सरकार

igpcompition

 काठमाडौं । नेपाल प्रहरीको नयाँ प्रमुख चयन गर्ने अन्तिम तयारीमा सरकार जुटेको छ । प्रहरीले दुई दिनपछि नयाँ आईजीपी पाउँदै छ। बर्तमान आईजीपी प्रकाश अर्याललाई  २८ गते दिउसो १ बजे बिदाइ गर्नका लागि  प्रहरी प्रधान कार्यालयले तयारी थालेको छ । नयाँ आईजीपीका लागि १ नम्वरमा रहेका डीआईजी सर्वेन्द्र खनाल बलियो उम्मेदवारको रूपमा प्रस्तुत भएका छन् ।

 २०४६ सालमा प्रहरी सेवा प्रवेश गरेदेखि नै विभिन्न क्षेत्रमा आफ्नो कार्यकुशलता देखाई सकेका डीआईजी खनालको पछि–पछि रमेश खरेल र पुष्कर कार्कीले प्रतिस्पर्धा गरेका छन् । नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो। मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो।

 खनालले तराईमा फैलिएको भूमिगत गिरोहलाई छिन्नभिन्न पार्नुका साथै नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरेर नेपाल लुक्ने अपराधीको समूहलाई समेत ध्वस्त बनाएका थिए। डीआईजी खनाल अपराध महाशाखाको प्रमुखका रूपमा आएपछि फुटबलमा हुने म्याच फिक्सिङ, गुण्डाका नाईके कुमार घैंटेको इन्काउन्टर, पेट्रोल पम्पहरूमा हुने ठगी र मानव बेचविखनमा परेर अलपत्र परेका ६ सय जनाको उद्धार, कन्सलटेन्सीमा छापा, हुण्डीको गिरोहलाई तहसनहस बनाउने काम गरेका थिए ।

 खनालपछि दोस्रो नम्बरमा रहेका खरेल एसपी हुँदा काम भन्दा प्रचारलाई बढी महत्त्व दिएर चर्चामा आए । खरेलले गुण्डाको सातो खाने र तराईका केही भूमिगत समूहलाई नियन्त्रणमा लिएर चर्चा कमाएका थिए । खरेलले कास्की, सिराहा र काठमाडौंमा बस्दा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै, डीआईजी पुष्कर कार्कीले समेत आफूलाई आईजीपीको दाबेदारका रूपमा प्रस्तुत गरेका छन् ।  गुण्डा नाइके दिनेश अधिकारी 'चरी'को इन्काउन्टरले कार्कीलाई जनतामाझ चिनाएको थियो ।  तर, वरीयतामा पछाडि र एसएसपीबाट डिअाईजी बन्दा खनाल र खरेल भन्दा निकै कम अंक रहेका कारण कार्की आईजीपीको 'रेस' बाट बाहिरिएको बुझिएको छ । 

 अघिल्लो सरकारले वरीयता मिचेर आईजीपी नियुक्त गरेपछि उक्त मुद्दाले राष्ट्रियरूपमा चर्चा पाएको थियो। सर्वोच्च अदालतले सरकारको निर्णयलाई उल्टाइदिएपछि मुलुकको राष्ट्रिय राजनीतिमा समेत त्यसले ठूलो प्रभाव पारेको थियो। 

Comments

Top