यस्तो छ मनाङ्गे पक्राउ पर्नुको रहस्य

deepak-manageकाठमाडौं । फरार सूचीमा रहेका प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गे पक्राउ परेका छन् । गुण्डा नाइकेको छवी बनाएका उनलाई स्वयम्भूको तीनधाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । भोली नै मनाङेलाई फैसला कार्यान्वयका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइने पनि उनले बताए।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिन पाएका छैनन् । प्रहरीले भने रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्रचार समेत गरिसकेको थियो ।

२०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङ्गेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो। लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भयो। त्यसपछि प्रहरीले मनाङ्गेको खोजी थालेको हो।

२०६१ सालमा ‘गुण्डा नाइके’ चक्रे मिलन समूहसँग महाराजगञ्जमा खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो। प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

तर, सरकारी वकिलको कार्यालय पुनः मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेपछि उनी प्रहरीको फरार सूचिमा परेका थिए ।

Comments

Top