३३ किलो सुन र सनम हत्या प्रकरण : लोहनीलाई जोगाउन डिएसपीलाई गृह मन्त्रालयबाटै भगाईयो

lohani

 काठमाडौं । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयमा बयान दिइरहेका डिएसपी सञ्जय राउत एक्कासी बेपत्ता बनेपछि छानविन समितीका सदस्यहरुमाथि शंका उब्जिएको छ ।

 बयान नसकिँदै अपरान्ह उनी फरार भएको घटना रहस्यमय बनेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख समेत रहेका उनी बयान नसकिँदै अचानक फरार भएपछि उनलाई पक्राउ गर्न गृह मन्त्रालयमा रहेको प्रहरी अधिकारी परिचालन गरिएको छ ।

 सुन तस्करीका मुख्य नाइके चुणामणि उप्रेती ‘गोरे’ले तस्करी गरेर ल्याएको ३३ किलो सुन हराएपछि यातना दिने क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको मृत्यु भएको थियो । घटनामा प्रहरीको भूमिका शंकास्पद भन्दै गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिले छानविन गरिरहेको छ । राउत बेलुकासम्म पनि सम्पर्कमा आएका छैनन्।

 राउतलाई भगाउन छानविन समितीका डिएसपी सुदिप पाठकले भूमिका खेलेको शंका गरिएको छ । राउत बेपत्ता भएपछी नाटकिय ढंगले 'कहाँ गयो राउत' भन्दै मन्त्रालयको गेटमा आएर पाठक फर्किएका थिए । डिएसपी पाठक उनै प्रहरी अधिकारी हुन, जो टीकापुरमा डीएसपी हुँदा प्रहरी हवल्दार ताराबहादुर ठकुल्लाको नाममा से १ च १८१० नम्बरको चोरीको हुन्डाई क्रेटा कार दर्ता गरी प्रयोग गरेका थिए। पाठकले चोरीका गाडी यातायातमा किर्ते कागजात बनाई बिक्री गर्ने मुख्य गिरोहलाई संरक्षण दिएका थिए ।

 स्रोतका अनुसार पाठकले ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा मुख्य भूमिका खेलेका अपराध महाशाखाका तत्कालिन एसएसपी दिबेश लोहनीलाई अनुसन्धानको सुचना चुहाएर जोगाउने खेलमा लागेका छन् । सई बालकृष्ण सन्जेलले आफुले एसएसपी लोहनी र डिएसपी प्रजित केसीको निर्देशनमा  सबै काम गरेको बयान दिँदा समेत लोहनीलाई अहिलेसम्म पनि पक्राउ गरिएको छैन। समितीमा रहेका पाठक र इन्स्पेक्टर भिश्म हुमागाईले पुर्व अाईजीपी उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालको डिजाईनमा काम गरेको समेत खुलेको छ । 

 पाठक र हुमागाईको डिजाइनमा लोहनीलाई जोगाउने गरी प्रतिवेदेन तयार पारिन लागेको समेत बुझिएको छ । डिएसपी राउतको बयानबाट पुर्व अाईजीपी प्रकाश र एसएसपी लोहनी फस्ने अवस्था देखिएपछी उनलाई मिलेमतोमा भगाईएको हुन सक्ने स्रोत वताउँछ। 

Comments

Top