सुन प्रकरणले लियो नयाँ मोड: एसएसपी लोहनी पनि अभियुक्त बन्दै,अर्याल निगरानीमा

gorepraksh

 काठमाडौं । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा महानगरिय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यलय तानिएका एसएसपी दिबेश लोहनीलाई बयानका लागि उपस्थित गराउन प्रहरी प्रधान कार्यलयलाई विशेष अनुसन्धान अनुसन्धान समितिले पत्राचार गरेको छ । सुन तस्करी र हत्याको घटनामा प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि सरकारले गत महिना गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान अनुसन्धान समिति गठन गरेको थियो । एसएसपी  लोहनी  बयानका लागि बुधवारसम्म बिराटनगर पुगिसक्ने प्रहरी स्रोतले वतायो । यसअघी लोहनीले अनुसन्धानमा खटाएका डिएसपी प्रजित केसीलाई जिल्ला प्रहरी कार्यलय मोरङले नियन्त्रणमा लिएर कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरी अनुसन्धान थालेको थियो । टोलीमा रहेका सई बालकृष्ण सञ्जेल पनि प्रहरी थुनामा छन् ।

केसी र सन्जेललाई बिराटनगर पठाउने र घटनाको कमाण्डर गरेका महाशाखाका तत्कालिन प्रमुख एसएसपी लोहनी प्रहरी प्रधान कार्यालय तानिए पनि पक्राउ परेका छैनन् । सुन काण्डमा सनम शाक्यको हत्या भएपछि पनि सुन बरामद् नहुनु र अबैध सुनका मालिक गोरे भन्ने चुडामणी उप्रेतीलाई लोहनी महाशाखामा हुँदा नै भगाइएका कारण उनको शंकास्पद भूमिका देखिएको थियो । लोहनीले ३३ किलो सुन गायब गराउन र सनम शाक्यको लास व्यबस्थापन गर्नका लागि दुई करोडमा सहमति गरेको समाचार समेत बाहिर आएको थियो  । सहमति भएपछि प्रहरीले नै सुन तस्करलाई साथ दिएको घटनाक्रमहरुले देखाएका छन् । 

डिएसपी केसीको बयानपछि एसएसपी लोहनीलाई पनि पत्र काटिएका कारण उनी पक्राउ पर्ने संभावना बढेर गएको छ । किनकी यो प्रकरणमा तल्लो प्रहरीले आफुभन्दा माथिल्लो प्रहरी अधिकारीको आदेश पालना गरेको हुँदा डिएसपी केसी पछि एसएसपी लोहनी पक्राउ पर्ने अवस्था देखिएको हो। पक्राउ पर्ने डरले एसएसपी लोहनी भने माओवादीका नेताहरुमार्फत समितीलाई दबाब दिन थालेका थिए । सरकारले गठन गरेको छानविन समितिले ३३ केजी सुन प्रकरणमा अहिलेसम्म ६ जना प्रहरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

स्रोतका अनुसार लोहनीको बयान लिए लगत्तै समितीले पुर्व अाईजीपी प्रकाश अर्यालसंग पनि बयान लिने छ  । लोहनीले आफ्नो मातहतका प्रमुख पुर्व एआइजी जयबहादुर चन्दलाई नसोधी सिधै पुर्व आईजीपी अर्याललाई सोधेर फागुन १८ गते डीएसपी केसीको नेतृत्वको टोली विराटनगर पठाएका थिए ।

अर्यालको सुन तस्कर चुडामणी उप्रेती 'गोरे'सँग पटक- पटक फोनमा कनेक्सन भएको प्रमाण समितीले फेला पारेको छ । लोहनीले तत्कालिन आईजीपी अर्यालसँग समन्वय गरी अपराधीलाई उम्काएको र सुन समेत खोज्न आनाकानी गरेका कारण अर्याल पनि यो घटनामा दोषी ठहरिने अवस्था देखिएको छ । अर्याललाई छानविन समितीले निगरानीमा राखिसकेको स्रोत वताउँछ  ।

प्रतिक्रिया

सम्बन्धित