न्यूनतम ज्याला वृद्धि गर्ने योजनामा प्रधानमन्त्री

kpolinnकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरुको न्युनतम ज्याला बढाउने योजना रहेको रहेको बताएका छन् ।विश्व मजदूर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै न्युनतम ज्याला बढाउने योजना रहेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेर श्रमजन्य कार्यमा संलग्न रहेका सम्पूर्ण श्रमजीवीलाई सुख, समृद्धि र मर्यादित जीवनका लागि शुभकामना दिएका छन् । उनले सबै श्रमिकलाई देशको आर्थिक सामाजिक रूपान्तरणमा पूर्ण क्षमताको सदुपयोग गर्दै संलग्न रहन प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् ।

‘परिश्रममा विश्वास गर्ने आम श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशको समग्र विकास र आर्थिक सामाजिक रूपान्तरण सम्भव हुँदैन । त्यसैले वर्तमान सरकार देशमा श्रमको सम्मान गर्ने र सबै प्रकारका श्रम शोषणको अन्त्य गर्ने दिशामा अग्रसर छ,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘श्रम ऐन–२०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको छ । सरकार योगदानमा आधारित सामाजिक सुरक्षा परियोजनाको कार्यकममा सम्पूर्ण श्रमिकलाई समेट्न अग्रसर छ । त्यसक्रममा सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मार्यादित कामको सुनिश्चितता कायम गर्नका लागि न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको छ ।’

प्रधानमन्त्रीले कुनै पनि निर्माणका आधार भनेका श्रमजीवी वर्ग नै भएको जनाउँदै समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने आधार पनि श्रमिक वर्ग नै रहेको बताएका छन् । प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदुर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै आएको छ । सन् १८८९ देखि हरेक वर्ष मजदुर दिवस मनाउने गरिएको छ ।

Comments

Top