भारतीय राजदुतले अचानक किन भेटे गृहमन्त्रीलाई ?

manjitpuri

 काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले बिहिबार अचानक  भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

गृहमन्त्री थापाले नेपालका विविध क्षेत्रका साथै सुरक्षा निकायको तालीम र भौतिक सामग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत पुरीमार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

उनले भारत सरकारको सहयोगमा काभ्रेमा बन्न लागेको नेपाल प्रहरीको तालीम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदूतलाई आग्रह गरे ।

यस्तै, खुला सिमानाको फाइदा उठाउँदै हुने मानव तस्करी, सुन तस्करी, लागुपदार्थको ओसारपसारलगायतका अपराधविरुद्ध भारत सरकारको सहयोगका लागि आग्रह गर्दै गृहमन्त्री थापाले यस्ता अपराधविरुद्ध दुई देशको संयुक्त सहकार्य आवश्यक रहेकामा जोड दिए । जवाफमा राजदूत पुरीले यस्तो सहयोग गर्न भारत तयार रहेको बताए ।

राजदूत पुरीले नेपाल प्रहरीको तालीम केन्द्र निर्माणकार्यको विषयलाई आफूले प्रमुख प्राथमिकतामा राखेको भन्दै योसम्बन्धी कार्य अघि बढिसकेको जानकारी दिए । भेटमा उनले गृहमन्त्री थापालाई भारत भ्रमणका लागि आग्रहसमेत गरे ।

प्रतिक्रिया

सम्बन्धित