काठमाडौं । मुलुकको सबैभन्दा पुरानो वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा परिवर्तन भएपछि नियमित सञ्चालन हुँदै आएको अस्पतालमा पछिल्लो समय भने धेरै नै परिवर्तन भएका छन् । २०७२ सालको भूकम्पपछि औषधी खरिददेखि आवश्यक सामग्रि खरिद र फोहोरको टेण्डरमा समेत विवादमा परेको वीर अस्पतालमा पछिल्लो समय भने केहि सुधारका कामहरु भएका छन् । न्याम्सको उपकुलपतिमा डा. गणेश गुरुङ आएसँगै भ्रष्टाचारले लथांलिंग बनेको अस्पताल विस्तारै सुधारका क्रममा छ ।
साउन २३ गते भिसी डा. गुरुको समयावधि समाप्त भएसँगै नयाँ भिसी बन्नका लागि डाक्टरहरु यतिबेला चलखेलमा लागेका छन् । साउन २६ मा रेक्टर, रजिष्टार र डिनको पनि कार्यकाल समाप्त भएको छ । प्रतिष्ठान ऐन अनूसार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ भिसीको नियुक्तिका लागि २४ गते सिफारिस समिति बनाइ सकेका छन् ।
समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री एवम् न्याम्सका सहकुलपति उपेन्द्र यादवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका बिज्ञ डा. सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा रहेका छन् । समितिले नयाँ भिसीका लागि कार्ययोजनासहित निबेदन दिन १५ दिने सूचना पनि प्रकाशित गरिसकेको छ । हाल उपकुलपतिको दौडमा वीर अस्पतालका डा. सिताराम चौधरी, डा. श्रीकृष्ण गिरी, डा जागेश्वर गौतम, डा भगवान कोईराला, डा. डिएन शाह छन् ।
रजिस्टारमा भने मेडिकल काउन्सिलका रजिस्टार एवम् प्रधानमन्त्री ओलीका निजी डाक्टर दिलिप शर्मा रहेका छन् । त्यसैगरी निर्देशकमा भने डा. भुपेन्द्र बस्नेत नै दोहोरिने सम्भावना छ । त्यसैगरी निर्देशकमा भने डा. बस्नेत नै आउनु पर्ने भन्दै अधिकांश कर्मचारी र आधिकारिक ट्रड युनियनले स्वास्थ्य मन्त्रीसँग भेटेर आग्रह गरिसकेका छन् ।
वीर अस्पतालको स्वास्थ्य सेवालाई चुस्त पार्नु पर्ने, ट्रमा सेन्टरलाई डा. गुरुङले जस्तो नसिंङ होमको शैलीमा सञ्चालन नगर्न तथा सस्तो सेवा प्रदान गर्नुपर्ने, सर्वोच्चको आदेश अनुसार संस्थालाई स्वायत्त रुपमा सञ्चालन गनुपर्नेलगायतका माग लिएर वीरका कर्मचारीहरु अघिल्लो विहिबार नै स्वास्थ्य मन्त्रालय पुगेका थिए । उनीहरुले गुरूङको सहमतिमा अस्पतालको खरिद एकाईले गरेको भष्टाचारको छानविन गर्न समेत माग गरेका छन् ।
डा. गुरुङले गरेको अनियमितता र भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, र सतर्कता केन्द्रले छानविन गरिरहेका छन् । तर, यतिबेला डा. गुरुङ स्वास्थ्य मन्त्री यादवलाई करोडौं बुझाएर पुनः उपकुलपति बन्न लागेको चर्चा वीर अस्पतालभित्र चल्ने गरेको छ ।
स्रोतका अनुसार उनले अस्पतालमा उपकरण सप्लाई गर्ने ब्यापारीहरुसँग पुनः भिसी बन्नु प¥यो भन्दै रकम उठाउन समेत थालेका छन् । उता आईओएमका डिन भइसकेका डिएन शाह पनि करोडौं भिसी बन्न चलखेलमा लागेको वीरका कर्मचारीहरू नै बताउँछन् । तर, प्रतिष्ठानका कर्मचारीहरुले भने अस्पतालमै कार्यरत बरिष्ठ डाक्टर तथा अनुभवीबाट नै भिसी बनाउनु पर्ने अन्यथा आफुहरुलाई मान्य नहुने बताउँदै आएका छन् । (यूनाइटेड पोस्ट साप्ताहिक )
Comments