मोडलिङ र अभिनयमा ब्यस्त एसके भन्छन्-'कहिल्यै घमण्ड गर्दिन'

काठमाडौं : अभिनय यात्राको सुरुवात देखि नै संगीत क्षेत्रमा नै विताएका चर्चित मोडल एसके ( सुरेन्द्र कुमार) दाहाल अभिनयको दुनियामा एक सशक्त कलाकार हुन । काभ्रेमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाइरहेका एसके कलाकारीताको छवीलाई उचाईमा लैजान क्रियाशिल छन् । लोकप्रिय टेलीचलचित्र मेरी बास्सै, जिरे खुर्सानी, खासखुसलगायत आधा दर्जन भन्दा बढी टेलिसिरियलहरु र फिल्महरुमा पनि अभिनय गरेका दाहाललाई निरन्तर रुपमा आफ्नो यात्रालाई अगाडि बढाइरहेका छन् । । मोडल तथा कलाकार एसकेलाई मेहनति सहनशील र ऊर्जाशील कलाकारको रुपमा लिने गरिन्छ । उनी भन्छन्–‘मलाई ठूलो कलाकार हुँ भन्ने घमन्ड लाग्दैन । अभिनय क्षेत्रको कलाकार बन्न अझै मैले यस क्षेत्रमा धेरै कुराहरु सिक्नु छ ।’ विगत ७÷८ वर्ष अगाडी चर्चित हास्य कलाकार गोपाल नेपाल ‘फिस्टे’ को जिके कला केन्द्रमा भर्ना भई नृत्य सिकेका एसकेले त्यसको केही महिना पछि कृष्ण फिल्मस्मा नृत्य निर्देशक शंकर विसीसँग डान्स क्लास लिन थालेपछि उनको डान्स र अभिनयको यात्रा सुरु भएको हो । कृष्ण फिल्मस्मा डान्स सिक्दै गर्दा यहाँबाट निर्माण हुने म्युजिक भिडियोहरुमा ग्रुप डान्स गर्ने मौका मिलेको उनी बताउँछन् । उनले चार सय भन्दा बढी म्युजिक भिडियो र एक सय भन्दा बढी फिल्ममा ग्रुप डान्स गरेका छन् । परिश्रम र मेहनतको फलस्वरुप अहिले आफूलाई लिडिङ रोलमा अभिनय गर्ने मौका मिलेको उनले बताए । काभ्रे जिल्लाको मेथिन्कोट–४ मा पिता रेशम दाहाल र माता भवानी दाहालको कोखबाट जन्मेका कलाकार दाहाल २०६१ साल तीर पढाईको क्रममा काठमाडौं छिरे पनि सानै देखि कलाकारीतामा अत्यन्तै रुची राख्थे । तर, उनले कलाकारीता यात्रा भने २०६५ सालबाट शुरु गरेका हुन् । २०७० सालमा चर्चित शब्द संगीतकार लालकुमार बरालको संगीतमा रहेको गीत ‘जुनमा पनि दाग छ’ भने म्युजिक भिडियो उनले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो थियो । जुन भिडियो अत्यन्तै चर्चित भयो । उक्त म्युजिक भिडियोको साथसाथै एसकेको अभिनय धेरैले मन पराएपछि यो क्षेत्रमा उनी झन मेहनतका साथ अगाडि बढिरहेका छन् । म्युजिक भिडियोमा गरेको पहिलो अभिनयसँगै हर्षित बनेका एसके भन्छन्–‘त्यसपछि मैले अझै मेहनत गर्नु पर्छ भनेर निरन्तर लागि परेको कारण आजसम्म धेरै दर्शक र स्रोताले मन पराउनु भएको छ र यसै क्षेत्रमा काम गरीरहन पाएको छु ।’ आशिष म्युजिकबाट बजारमा आएको उक्त म्युजिक भिडियोमा चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका थिए । उक्त भिडियो सबैको मन मस्तिकमा बस्न सफल भए पश्चात धेरै गीतहरुमा खेल्ने अफर आएको र चर्चित निर्देशक शंकर विसी, कपिल लामा, उज्वल घिमिरे, शिव विकलगायत धेरै नयाँ पुराना निर्देशकहरुसँग काम गरेको उनले बताए । सहनशील, कर्तव्यनिष्ठ, मेहनती, ऊर्जाशील कलाकार एसकेले नेपाली गीत संगीतमा दिएको निरन्तर योगदान अतुलनीय रहेको छ । एसके आफैलाई मन पर्ने अनि आम दर्शकहरुले रुचाइएका चर्चित भिडियोहरुमा जुनमा पनि दाग छ, बाचा कसम खाको, पलपल झल्को, नाचीदेउ घुमेर, पिरतीको लगन गाँठो, सोध्छु अब जुनलाईलगायत अरु थुप्रै गीतहरु रहेका छन् । सदाबहार मेहनती र अनुभवि मोडल भएकै कारण अहिलेसम्म यसै क्षेत्रमा निरन्तर लागि रहेको र विभिन्न मान सम्मान अवार्ड तथा पुरस्कारहरु हात पार्न सफल मोडल एसकेले अहिलेसम्म दुई सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । म्युजिक भिडियो कलाकार संघ, चलचित्र कलाकार संघ, लोकदोहोरी कलाकार संघ, प्रस्तोता समाज लगायत अन्य संघसंस्थाहरुको साधारण सदस्यता लिएका एसके यति बेला विभिन्न स्टेज प्रोगाम, टेलिसिरियल र म्युजिक भिडियोमा व्यस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित