काठमाडौंबासीका लागि मर्निङ वाक खतरा

morning walk

   काठमाडौं । स्वस्थ्य जीवनका लागि मर्निङ वाक एकदमै राम्रो मानिन्छ । चिकित्सकहरुले पनि जो कोहीलाई मर्निङ वाकका लागि सल्लाह दिने गर्दछन् । तर, राजधानी काठमाडौंबासीका लागि भने त्यो उल्टो हुन पुगेको छ । काठमाडौंबासीले मनिङ वाक गर्दा स्वस्थ्य हुने भन्दा पनि रोगी हुने एक अध्ययनले देखाएको छ । त्यसैले चिकित्सहरुले नै काठमाडौंबासीलाई मर्निङ वाक नगर्न सुझाव दिन थालेका छन् ।

चिकित्सकहरुका अनुसार बिहान र बेलुकी हावामा २.५ माइक्रो मिटर र त्योभन्दा कम व्यास भएका हानिकारक धुलोका कण अत्यधिक हुने भएकाले मर्निङ र इभिनिङ वाक नगर्नु राम्रो हुने बताइएको छ ।

काठमाडौँ — सर्वसाधारणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको छ ।


चालु अंग्रेजी वर्ष काठमाडौंको रत्नपार्कमा मापदण्डभन्दा ४ गुणा बढीसम्म पीएम २.५ र त्योभन्दा साना धुलोका कण रेकर्ड भएको छ। पीएम २.५ को मात्रा सन् २०१७ मा प्रतिघनमिटर हावामा १ सय ३२ र सन् २०१८ मा प्रतिघनमिटर हावामा १ सय ३६ माइक्रोग्रामसम्म रेकर्ड भएको हो। यो आँकडा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डभन्दा झन्डै ६ गुणा बढी हो। डब्लूएचओले पीएम २.५ को मात्रा प्रतिघनमिटर हावामा २५ माइक्रोग्राम (२४ घण्टाको औसत) मापदण्ड तोकेको छ।

सरकारले पनि २.५ माइक्रो मिटर वा सोभन्दा कम व्यास भएका धूवाँ र धुलोका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा ४० माइक्रो ग्रामभन्दा कम हुनुपर्ने मापदण्ड तोकेको छ। विकसित देशमा वायुको गुणस्तर मापदण्डभित्रै सीमित हुने गरेको छ। तर, नेपालमा भने त्यस्तो नहुँदा राजधानीबासी दिन प्रतिदिन रोगी बन्दै गएका छन् ।

चिकित्सकहरुका अनुसार आँखाले देख्न नसकिने यी कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छन्। वायु प्रदूषणले स्वास्थ्यमा पारेको असरबारे अध्ययन गरेका स्वास्थ्य अनुसन्धान परिषदका डा. खेमबहादुर कार्कीका अनुसार सुक्खायाममा झनै २.५ माइक्रो मिटर र त्योभन्दा साना कण धेरै समयसम्म वायुमण्डलमा तैरिएर बस्ने गरेकाले बिहान र बेलुकीको समयमा हिँडडुल गर्नु घातक हुन्छ।

Comments

Top