डा. केसीले संसदीय समिति र सांसदहरुको अपमान गरे : सांसद बस्नेत

Mahesh Basnet

धादिङ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अनशनरत डा. गोविन्द केसीले संसदीय समिति र सांसदहरुको अपमान गरेर तानशाही शैली देखाएकाले उनको मागहरु पुरा गर्न वर्तमान सरकार वाध्य नहुने बताएका छन् । मंगलबार धादिङको निलकण्ठ नगरपालिका वडा न-१४ धुवाकोटमा गोरु जुझाउने विशेष कार्यक्रममा सहभागि हुन जाने क्रममा सदरमुकाम धादिङबेसीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता बस्नेतले डा. केसीले धेरै पटक अनसन बसेर आँफुलाई सत्याग्राही भएको पुष्टि गर्न खोजेपनि केसीको आन्दोलनको पछाडी नेपालमा मेडिकल कलेज संचालन गर्न नदिने शक्तिको हात रहेको बताए ।
डाक्टर केसीले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि नभई नेकपाको नेत्तृत्वमा रहेको अहिलेको सरकार बिरुद्ध अफवाह फैलाउन र नेकपा संग सम्वन्धित व्यवसायीहरुको लगानीका मेडिकल कलेज वन्द गराउन दवाव दिने उद्धेश्यले अनसन बसेको नेता बस्नेतको आरोप थियो ।  

डा.  गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको भन्दै बौद्धिक तथा युवा जनमतले आपत्ति जनाएको थियो । प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले विधि र कानून नमानी कसैले ‘हठ’ को प्रदर्शन गर्न नहुनेमा जोड दिएका अबस्थामा सांसद बस्नेतले पुरा गर्न नसकिने खालका माग राखेर केसीले लिंडेढिपी कसेकाले उनका मागहरु पुरा गर्न असम्भव रहेको बताए । 

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद बस्नेतले पार्टीको एकता प्रकृया अन्तिम चरणमा पुगिसकेकाले अव गाउँ देखिनै पार्टी एकता भएर शशक्त कम्युनिष्ट पार्टीको निर्माण र गतिविधि अघि बढ्न पनि बताए । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद खेमप्रसाद लोहनी, प्रदेश सभा सदस्य सांसद डाक्टर रामकुमार अधिकारी, युवा संघका नेता रमेश आचार्य लगायतको उपस्थिती रहेको थियो ।

Comments

Top