ट्याक्सी व्यवसायीको दबाबमा टुटल र पठाओ सेवा बन्द,सिन्डिकेट पोस्दै ट्राफिक प्रहरी

tootle

 काठमाडौं । ट्याक्सी व्यवसायीको दबाबमा महानगरिय ट्राफिक प्रहरी महाशाखाले नयाँ सञ्चार प्रविधिमा आधारित टुटल र पठाओ सेवालाई बन्द गरको भन्दै बिरोध शुरु भएको छ । उपत्यकामा चल्दै आएका ट्याक्सी व्यवसायीको दबाबमा परेर ट्राफिक प्रहरीले नयाँ प्रबिधी र सस्तो यातायात सेवा दिंदै आएको टुटल र पठाओ सेवालाई बन्द गरेको छ। यो संगै ट्याक्सी व्यबासायीको सिन्डिकेटको प्रभाव बढेको छ।  

 टुटल र पठाओ सेवाअन्तर्गत यात्रुलाई सेवा दिइरहेका चारजना मोटसाइकलधनीलाई कारबाही गर्दै ट्राफिक प्रहरीले उनीहरूको सेवा बन्द गरेको हो। टुटल र पठाओ भनेका निजी मोटरसाइकलमा यात्राको सुविधा दिने मोबाइल एप हुन्। यी एपले सेवा दिने मोटरसाइकल र यात्रुलाई जोड्ने गर्छन्।

 उपत्यकामा यो सेवा लोकप्रिय बन्दै गएको अवस्थामा ट्याक्सी सञ्चालकहरूले ट्राफिक प्रहरीमार्फत यी सेवा बन्द गराउन दबाब बढाएका थिए।  सबै ट्याक्सी सञ्चालकले ट्राफिक प्रहरीका प्रमुख एसएसपी बसन्त पन्तलाई आफ्नो पक्षमा पार्न सफल भएपछि  मोटरसाइकल चालकलाई पक्राउ गरेको थियो। सरकारले नयाँ प्रविधिलाई रोक्ने गरी गरिएको यो कार्य सरकारकै स्मार्ट सिटी बनाउने अवधारणाविपरीत भएको सूचना तथा सञ्चार विज्ञ मनोहर भट्टराईले बताए।

 पछिल्लो समय उपत्यकामा टुटल र पठाओ सेवामा जोडिने ग्राहकको संख्या उल्लेख्य बढ्दै गएको थियो। दुई वर्षअघि सेवा सुरु गरेको टुटलसँग १२ हजारभन्दा धेरै राइडर छन् भने चार महिनाअघि सञ्चालनमा आएको पठाओले ३० हजार राइडर रहेको बताएको छ।

 त्यस्तै, पठाओको एप दुई लाखपटक डाउनलोड भइसकेको छ। लोकप्रियता बढ्दै गएको अवस्थामा नेपाल मिटर ट्याक्सी संघले ऐनविपरीत भएको भन्दै लबिङ सुरु गरेको थियो। पठाओ र टुटल नयाँ प्रविधिमा आधारित सेवा भएकाले यिनीहरूलाई बन्द गर्न नहुने भन्दै चौतर्फी बिरोध भएको छ । बंगलादेशमा सञ्चालन भइरहेको यो प्रविधिलाई नेपालमा ल्याइएको हो। नेपालमा भने यसमा अमेरिकाबाट लगानी भित्रिएको छ। टुटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले पनि पुरानो ऐनलाई आधार मानेर नयाँ सेवा बन्द गर्ने हो भने धेरैको व्यवसाय बन्द हुने बताउँछन्। उपत्यकामा रहेको ट्याक्सीको मनपरी, सार्वजनिक यातायातको समस्याले गर्दा यी सेवाबाट हजारौं यात्रुले राम्रो सेवा पाइरहेका थिए।

Comments

Top