खानामा समेत टुरिष्ट बसको सिन्डिकेट

tourist bus

     पोखरा । राजधानी काठमाडौंमा ट्राफिक प्रहरी माहाशाखा प्रमुख एसएसपी वसन्त पन्तले मोटरसाइकलबाट सेवा दिई रहेका दुई वटा कम्पनीका सेवा नै बन्द गराएपछि विवाद उत्पन्न भइरहेका बेला यात्रुको सेवाका लागि भन्दै सञ्चालनमा आएका टुरिष्ट बसमा पनि यात्रुहरुले सास्ती पाउन थालेको तथ्य बाहिर आएको छ ।

यातायात कार्यालयमा दर्ता नै नभएको वहानमा एसएसपी पन्तले ट्याक्सी व्यवसायीहरुको सिन्डिकेटलाई मलजल पुग्ने गरी राजधानीमा सञ्चालित नयाँ सञ्चार प्रविधिमा आधारित टुटल र पठाओ सेवालाई बन्द गराएका हुन् । तर, दैनिक हजारौं यात्रुहरुलाई सास्ती दिइरहेका टुरिस्ट बसहरुलाई भने न त महाशाखाले कारबाही गर्न सकेको छ न त सरकारले नै कुनै मापदण्ड बनाउन सकेको छ ।

कालो प्लेटका जिर्ण बस चढ्दा हैरानी र सास्ती बेहोरेकाहरु २–४ सय रुपैयाँ बढि तिरेरै भएपनि आरामदायी यात्रा र मिजासिलो स्वागतको अपेक्षामा टुरिष्ट बस चढ्छन् । टुरिष्ट बस चढ्नेहरुको संख्या दिन प्रतिदिन ह्वात्तै बढेको छ । तर, टुरिष्ट बसको सेवा भने सोचे जस्तो छैन । पछिल्ला समयमा टुरिष्ट बसले यात्रुलाई सास्ती दिने खालका व्यवहार गर्न थालेपछि यात्रुहरु टुरिष्ट बसको सेवाका बारेमा ट्राफिक प्रहरी समक्ष गुनासो र उजुरी दिन थालेका छन् ।

यस्तै एउटा उजुरी ट्राफिक प्रहरीमा आएपछि ट्राफिक प्रहरीले बस मालिकलाई बोलाएर १५ सय जरिवाना तिराएर गल्ती नदोहो¥याउने सर्त सहित माफी मगाएर छोडेको छ । न्यूरोड ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रशान्त आचार्यले सञ्चालन गरेको बा१प १३४५ नम्वरको टुरिष्ट बसले पोखराबाट काठमाडौं गएका यात्रु सन्देश राईलाई टिकटमा काटेर पनि टुलमा बसाएर काठमाडौं पु¥याएको थियो । सोही सिट नम्बरमा दुई जनालाई टिकेट कटाएका कारण राई टुलमा बसेर काठमाडौं पुग्न वाध्य भएका थिए ।

बसका सहचालकलाई आफूले काटेको ‘वी ६’ नम्वर सिट मिलाइदिन पटक–पटक आग्रह गर्दा पनि आफ्नो सिट पाउने त के अर्कै गाडीमा पठाइदिन भन्दै आफूलाई अपमानपूर्ण ढंगको व्यवहार गरेको यात्रु राईले बताए । यात्रुका अभिभावक रविन राइले पनि टिकट काउण्टर र बस मालिक प्रशान्त आचार्यलाई फोन मार्फत् अनुरोध गर्दा समेत कुनै सुनुवाई नगरेका कारण यात्रु र उसका आफन्तले सास्ती मात्र मात्र होइन पिडा महसुस गरेको बताए । यस्ता हर्कतका कारण टुरिष्ट बसप्रतिको आस्था र विश्वास गुमेको छ ।

यता टुरिष्ट बस सञ्चालक प्रशान्त आचार्यले ट्राफिक प्रहरीमा आएपछि गल्ती स्वीकार गरेका थिए । एउटै सिटको दोहोरो टिकट काटेकोमा आचार्यले कमजोरी स्वीकार गरेका थिए । टुरिष्ट बस नेपाली यात्रुलाई हेप्ने, दुव्र्यवहार गर्ने, विदेशी टुरिष्टलाई बढी पैसा लिएर नेपालीले काटेको सिटमा राख्ने जस्ता व्यवहार हुँदै आएका गुनासाहरुका कारण टुरिष्ट नम्वर प्लेटका बसको यात्रा महंगो त छ नै अब लोकल बस जस्तै झन्झटिलो र सास्तीपूर्ण हुन पुगेको छ । न्यूरोड ट्राभल्स एण्ड टुर्सका बसको ठगी घटना एउटा नमूना मात्र हो । कास्की ट्राफिको पर्यटन बस सेवामा अनुगमनलाई निरन्तरता दिने बताएको छ ।

यतिमात्र होइन टुरिस्ट बस सञ्चालन गर्नेहरुले यात्रुहरुलाई खाना खुवाउने नाममा समेत ठगी गर्दै आएका छन् । आफ्नो रोजाइमा परेको स्थानमा लगेर बस रोकिदिने र सोही ठाउँमा खाना खान बाध्य बनाउने व्यवसायीहरु माथि प्रशासनको अझै ध्यान जान सकेको छैन । कमिसनकै लागि एउटमात्र होटल भएको ठाउँमा लगेर बस रोक्दा यात्रुहरु पाँच तारे होटलको भन्दा महंगो खान खान बाध्य छन् । तर, बस व्यवसायीहरु भने उल्टै राम्रो र सफा खाना खुवाउनका लागि एउटा मात्र होटल भएको ठाउँमा रोक्ने गरिएको दावी गर्छन् । जुन कुनै पनि दृष्टिकोणबाट सही छैन ।

तोकेभन्दा बढि भाडा असुल्दै
पोखराबाट चल्ने यात्रु बसहरुले मनोमानी भाडा उठाउँदै आएका छन् । सुविधा नभएका डिलक्स र सुपर डिलक्स तथा टुरिष्ट बसहरुले पनि नेपाली यात्रुसँग मनोमानी भाडा उठाउँदै आएका छन् । टुरिष्ट वसहरुले प्रति यात्रु सात सय देखि १ हजारसम्म भन्दा उठाउँदै आएका छन् । यस्तै पोखराका केहि कम्पनीले सुपर डिलक्सका नाममा प्रती यात्रु दुई हजार भन्दा बढी भाडा उठाउँदै आएका छन् । मनोरञ्जन सहित विभिन्न शिर्षकमा रकम उठाउँदै २२ सय सम्म भाडा लिने गरेका छन् । तर, यस विषयमा प्रहरी, प्रशासन, उपभोक्ता अधिकारकर्मी कोही बोलेका छैनन् ।

Comments

Top