ज्ञानेन्द्रको सक्रियतासंगै पूर्व राजावादीहरुको चलखेल

kinggyanendra

 काठमाडौं । पछिल्लो समय पूर्व राजावादीको चलखेल बढीरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न सिमरा र झापा जानुहुने भएको छ । करिब एक महिना लामो बसाई गर्न सिमरा र झापाको दमक जान लाग्नुभएको हो ।

 माघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड शसस्त्रका डिएसपी शिव राउत सहित पूर्व राजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ । सिमरा स्थित प्रभु शमसेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ । उनी सिमराबाट पूर्वी तराईको भ्रमण गर्नेछन ।

पुर्व राजाको सुरक्षा सहितको सवारी साधन माघ ११ गते सिमरा पुग्ने भएको छ । निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मी सहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पुर्ण सुरक्षा व्यवस्थाको प्रवन्ध गर्ने भएको छ । पूर्व राजाको साथमा निजी सहयोगी भान्छे समेत सिमरा पुग्ने भएका छन । करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने कार्यक्रम तय भएको छ ।

दमक पुग्नु अघि तराईका विभिन्न जिल्लाका स्थानीयले स्वागत कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन् । अहिले सम्म यही २० गते दमक जाने कार्यक्रम तय भएको छ–स्रोतले भन्यो ।

 पूर्व राजाका संवाद सचिव डा. फणिराज पाठकले निजी भ्रमणको सिलसिलामा सिमरा र दमक जान लाग्नुभएको जानकारी दिए । पोखरा बसाईका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा , पूर्व मन्त्री लगायत केही राजावादीसंग भेट गरेका थिए । सो क्रममा राप्रपा नेपालका अध्यक्ष थापाले ज्ञानेन्दसंग भेटे लगत्तै फागुन ७ गतेबाट हिन्दु धर्मको पक्षमा आन्दोलन गर्ने घोषणा गरेका थिए । सो क्रममा ज्ञानेन्द्रले करिब ४ सय राजावादी, राप्रपा र मधेशवादी दलका नेतालाई भेट गरेका थिए । (नेपाल समाचारपत्र )

Comments

Top