कांग्रेस प्रवक्ता शर्माको आरोप - अहिलेको सरकार उत्तर कोरियाको कम्युनिष्ट सरकार जस्तै

bisho

 काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार उत्तर कोरियाबाट आएको कम्युनिष्ट सरकार जस्तै देखिएको आरोप लगाएका छन् ।

 कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी मुख्यालय सानेपामा आकस्मिक पत्रकार सम्मेलन गरेर गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्ने निर्णय सच्चाएको जानकारी आफूहरूलाई आधिकारिक रुपमा नआएको बताए । ‘गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामका अस्पताल खारेज गर्ने प्रक्रिया सच्चाउने निर्णय गरेको सुनेका छौँ ।

 आधिकारिक जानकारी आएको छनै’, उनले भने, ‘यदि निर्णय सच्चाइएको रहेछ भने यो सरकारविरुद्ध माघ २१ गतेको प्रदर्शन झन् आवश्यक भएको छ । यस्ता गल्तीहरू सरकारले धेरै गरेको छ ।’
‘संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहार भएको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वर्गीय नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास भएको छ ।’

‘सरकारले आफ्नो गल्ती सच्याएको भन्ने विवरण संचार माध्यममा आएका छन्, यस बारेमा पार्टीलाई औपचारिक जानकारी प्राप्त भएको छैन’, उनले भनेका छन्, ‘दर्जनौं गल्तीहरू गरिसकेको सरकार तिनलाई सच्याएर अघि बढोस् भन्ने हाम्रो दबाब जारी रहनेछ ।’

Comments

Top