महरालाई ‘अमृत’ बन्यो चिकित्सा शिक्षा बिधेयक

mahara

 काठमाडौं । स्वीट्जरल्याण्डबाट आउने बेला प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा अग्रपंक्तिमा हँसिलो मुद्रामा देखिएका सभामुख कृष्णबहादुर महरालाई सबैले निगरानीका साथ हेरेका थिए । महरालाई खुसी र फुर्तिलो देख्ने वित्तिकै ओलीले थाहा पाए खुसीको राज ।

 ओलीसँग निकट हुन खोजेका महरालाई केही नेताहरूलाई भने मन पराएका थिएनन् । ओली विदेशमा रहेका बेला राष्ट्रिय चिकित्सा विधेयकलाई संसदबाट पारित गराएका महराले त्यसको जस लिने प्रयास गरेको भनेर टिकाटिप्पणी भएको थियो । ओलीले महरालाई चिकित्सा शिक्षा विधेयक पारित गराएकोमा त्रिभुवन विमानस्थलमा स्वागतकै क्रममा बधाई दिएको बताइएको छ ।
महरालाई ओलीसँग नजिक हुन चिकित्सा शिक्षा बिधेयक ‘अमृत’ बनेको छ ।

 महराको कामबाट नेकपाका धेरै नेताहरू खुसी भए पनि केही नेताहरूलाई टाउको दुःखाइ बनेको छ । विशेष गरेर नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, ओनसरी घर्ती, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका सीमित नेताहरू महराको कार्यशैलीबाट निरास बनेका छन् । स्रोतका अनुसार प्रमुख विपक्षी दलको विरोध हुँदा हुँदै महराले चिकित्सा शिक्षा विधेयक मार्सल लगाएर पारित गराएकोमा नेम्वाङ र घर्तीले असन्तुष्टि जनाएका छन् ।
तर, उनीहरूले सार्वजनिक रुपमा बाहिर केही प्रतिक्रिया दिएका छैनन् । कांग्रेसलाई विश्वासमा लिएर गर्नुपर्ने कामलाई महराले बल प्रयोग गरेको कुरा नेम्वाङ र घर्तीलाई मन नपरेको हो । महराका कारण कांग्रेस झन् रिसाएको छ ।

 कांग्रेसले महरालाई संसदीय पद्धतिका बारेमा जानकारी नरहेको भनेर टिप्पणी गरिसकेको छ । महराले ओलीलाई खुसी बनाए पनि कांग्रेसका साथै आफ्नै दलका नेताहरूलाई खुसी बनाउन सकेनन् ।
त्यसैले यति बेला महरा नेकपामा एक्लिएका छन् । महरालाई प्रधानमन्त्री ओलीले विश्वास पनि गरिसकेका छैनन् । महराको कार्यशैलीबाट नेकपाका प्रवक्ता श्रेष्ठ पनि खुसी छैनन् । महराको कार्यशैलीको नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेरै श्रेष्ठले आपत्ति जनाएको स्रोत बताउँछ । महराको कार्यशैलीले नेकपाभित्र एक खालको तरंग उत्पन्न र हलचल पैदा गरिदिएको छ । (यूनाइटेड पोस्ट साप्ताहिक)

 

Comments

Top