सुन तस्करीको जालो तोडियो, केही माछाहरु अझै जाल बाहिर : गृहमन्त्री

grihamantri_1

 काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुन तस्करीको जालो तोडिएको दाबी गरेका छन् । बुधबार राष्ट्रियसभाको शून्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन् ।

सुनकाण्डको सवालमा सुन तस्करीमा संलग्न ठूला माछाहरु मूलभूत रुपमा नियन्त्रणमा आइसकेको भएपनि केही माछाहरु अझै जाल बाहिर रहेको स्वीकार गरे । उनले भने, ‘केही ठूला माछाहरु अझै पनि जालभन्दा बाहिर छन् । तिनीहरुलाई समात्ने र जालमा ल्याउने प्रक्रिया जारी छ ।’

सुनकाण्डका सवालमा ठूला माछा अझै नियन्त्रणमा किन आएनन् भनी सदस्यहरुले राखेको जिज्ञासा स्पष्ट नभएको भन्दै उनले प्रश्न गरे ।

उनले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको पनि दाबी गरेका छन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहको खोजी भइरहको तथा अपराधी पत्ता लगाउन उदासिनता देखाउने प्रहरीमाथि पनि कारवाही भएको जानकारी गराए ।

गृहमन्त्री थापाले राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका सर्वसाधारणलाई छिट्टै शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराए । उनले यातायात क्षेत्रको सिण्डिकेट पनि कानूनी रुपमा अन्त्य भइसकेको भन्दै अन्य क्षेत्रमा देखिएको सिन्डिकेटको पनि अन्त्य गर्दै लगिने स्पष्ट पारे ।
पूर्वराजदूत केशव झाको हत्याको अनुसन्धान चलिरहेको गृहमन्त्री थापाले बताए । सिंहदरबार प्रवेशलाई सहज बनाउन गृहमन्त्रालयले आवश्यक व्यवस्था मिलाउने काम गरिरहेको उनले स्पष्ट पारे ।
राष्ट्रियसभा सदस्यहरु बृषेश चन्द्रलाल, सरिता प्रसाई , कोमल ओली, अनिता देवकोटा, जितेन्द्रनारायण देव, रामपृत पासवान, रामनारायण विडारी, विन्दादेवी आले रानाले गृहमन्त्री थापाको वक्तव्यमा केन्द्रीत रही प्रश्न गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित