उद्योगीहरुलाई राजनीतिज्ञको पछि नलाग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने–‘नेपालमै गाडी उत्पादन गरौं’

kp sharma

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले नेपालमा पनि गाडी उत्पादन गर्ने कम्पनी स्थापना गर्नुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत पु¥याउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने–‘नेपालमा नै गाडी उत्पादन गर्ने कम्पनी खोल्नुहोस् सरकार सहयोग गर्न तयार छ । हामीभन्दा साना मुलुकले गाडी उत्पादन गरिरहेका छन्, हामीले किन नसक्ने ?’

नेपाल उद्योग वाणिज्य महासंघको ५३औं साधारणसभा उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले आवश्यक परे पेट्रोल उत्खनन गर्ने पनि बताए । उनले भने–‘खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं । खनिज, स्रोत, उर्वर भूमि, वनस्पति, जैविक क्षेत्रमा प्रशस्त संभावना भएकाले हरेक क्षेत्रमा नयाँ ढंगले उद्योग खोल्नुपर्छ ।’

राजनीतिञहरुको पछि नलाग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने–‘अस्वस्थ्य प्रतिस्पर्धा गर्ने काम राजनीतिज्ञहरुको हो त्यो खेलमा तपाईंहरु नलाग्नुस् ।’ संघीयता कार्यान्वनयमा केही समस्या आएको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले पहिलोपटक संघीयताको अभ्यास भएकाले प्राविधिक रुपमा केही अन्योल आउनु स्वाभाविक भएको बताए ।

‘हामीले अन्त सुनेको तर कसैले पनि नभोगेको संघीयता पहिलोपटक प्रयोगमा ल्याएका छौं,’ उनले भने–‘गाडी सिक्दा सिकारुले ब्रेक र एक्सिलेटरमा झुक्किए जस्तो भएको छ। संघीयतामा गएपछिको पहिलो बजेटमा केही समस्या आयो, कतै कार्यक्रममा मात्र गयो। कतै बजेट। अब यस्तो समस्या आउँदैन।’

सरकार सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै उनले भने–‘हामी पिपिपी मोडलमा काम गर्न तयार छौं । अर्थतन्त्रमा सकेसम्म धेरै हिस्सा निजी क्षेत्रको हुनुपर्छ भन्ने मान्यता यो सरकारको छ।’

Comments

Top