बिप्लबको बन्दको प्रभाब : विभिन्न स्थानमा बम विष्फोट र आगजनी

sena

 काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दको प्रभाव उपत्यका बाहिर देखिएको छ। विभिन्न ठाउँमा बम विष्फोट र आगजनीका घटना भएका छन् ।
अज्ञात समूहले देशका विभिन्न ठाउँमा बम विष्फोट गराउनुका साथै केही सवारीसाधनमा आगजनी गरेको छ । पोखराको नदीपुरस्थित प्रदेश सभा भवन अगाडि भेटिएको बम डिस्पोजन गर्ने क्रममा एक सैनिक घाइते भएका छन् ।

प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर डेटोनेटर डिस्पोज गर्ने क्रममा सैनिक धर्मबहादुर थापाको हातमा चोट लागेको हो । त्यसैगरी पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ ।

उता पाल्पाको रिब्दिकोट गाउँपालिकाको भवनमा पनि बम विष्फोट भएको छ । विष्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ । विष्फोटबाट एक थान कम्प्यूटर, तीन तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राह्रो समेत केही चर्किएको छ ।

त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । त्यस्तै काभ्रेको पनौतीमा भेटिएको बम पनि सेनाले निस्क्रिय पारेको छ ।

उता मकवानपुरको भिमफेदी गाउँपालिका–९ गोलमोडमा हेटौंडाबाट तरकारी बोकेर पालुङतर्फ जाँदै गरेकोे मिनि ट्रकलाई रोकेर पाँच जनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरले जनाएको छ ।

मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ कुखुरा बोकेर जाँदै गरको बोलेरो जिपमा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको छ । आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ ।

Comments

Top