लाभकर तिर्न फेरिपनि आनाकानी गर्दै एनसेल, ठूला करदाताकोविरुद्धमा सर्वोच्चमा मुद्दा

ncell

   काठमाडौं ।स्थापना कालदेखि नै लाभकर तिर्न आनाकानी गर्दै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले फेरि पनि अर्को लफडा झिकेको छ । सर्वोच्च अदालतको पूर्ण पाठ आएलगत्तै ठूला करदाता कार्यालयले तोकेको रकम कानुन अनुसार नभएको दावी गर्दै एनसेलले फेरि पनि सर्वोच्चमा मुद्दा हालेर रकम घटाउने चलखेल शुरु गरेको हो ।

रकम घटाउनका लागि अदालतसम्म सेटिङ मिलाउने जिम्मा भने एनसेलको २० प्रतिशत नेपाली लगानीकर्ता सुनेभेरा क्यापिटल भेञ्चरकी भावना सिंह श्रेष्ठका श्रीमान् शतिशलाल आचार्यले लिएको स्रोतको दावी छ । तर, उनको चलखेल सर्वोच्चसम्म नपुग्ने पनि स्रोतले बतायो ।

एनसेलले ठूला करदाता कार्यालयबाट आफूलाई निर्धारण भएको पुजीगत लाभ कर कानुनअनुसार नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट हालेको हाे ।

सर्वोच्चको आदेशपछि ठूला करदाता कार्यालयले वैशाख ३ गते एनसेलले तिर्नुपर्ने बाँकी पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ निर्धारण गरेको थियो। सोही दिन उसले सात दिनभित्र कर तिर्न एनसेललाई सूचना पठाएको थियो।

कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गरेको भएपनि एनसेलले यसअघि तिरेको रकम कटाएर बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिनभित्र तिर्न भनेको थियो ।

७ दिने म्याद सकिनु अघिल्लो दिन एनसेल सर्वोच्च अदालतमा रिट दायर गरेको हो । गत माघमा सर्वोच्च अदालतले टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेल र एक्जियटालाई तिराउने फैसला दिएको थियो।

फैसलाको पूर्ण पाठ नआउन्जेल सरकारले एनसेलले तिर्नुपर्ने कर निर्धारण गरेको थिएन। गत साता मात्रै सर्वोच्च फैसलाको पूर्ण पाठ दिँदै तीन महिनाभित्र एनसेलबाट पुँजीगत लाभकर उठाउन सरकारलाई भनेको थियो।

उक्त फैसला अनुसार ठूला करदाता कार्यालयले टेलियासोनेराले एक्जियटालाई बेच्दा १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार पुँजीगत लाभ भएको थियो। त्यसको कर ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ निर्धारण भएको थियो।

त्यसमध्ये एनसेलले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ अग्रिम रूपमा तिरिसकेको थियो। त्यस्तै विलम्ब शुल्कवापत् २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रूपैयाँ पनि एनसेलले तिरेको थियो।

त्यसैले एनसेलले अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० रुपैयाँ मात्र कर दिनपर्नु दाबी गरेको छ । एनसेलका अनुसार विक्री मूल्य १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख ६ हजारमा खरिद गर्दाको लागत १ अर्ब १२ करोड ८८ लाख घटाउँदा कायम हुने १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारमा मात्र पुँजीगत लाभकर लाग्छ ।

यसको २५ प्रतिशत पुँजीगत लाभकर ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५०० हुन्छ । आफूले २६ वैशख २०७५ मा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० र २१ जेठ २०७४ मा ११ अर्ब ५७ करोड ४८ लाख ८४ हजार ८६० गरी २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९०० भुक्तानी गरिसकेको छ । त्यसैले २५ प्रतिशतको बाँकी १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० मात्र बुझाउँदा पुँजीगत लाभकरको विषयले पूर्णता पाउनु पर्ने एनसेलको तर्क छ ।

 

Comments

Top