विप्लव समूहका आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरी सफल : आईजीपी खनाल

igp sarbendra khanal

  काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अपराध नियन्त्रणका लागि प्रहरीले एक वर्षको अवधिमा उल्लेख्य सफलता हासिल गरेको बताएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आईजीपी खनालले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘बिप्लब’ समूहका आपराधिक गतिबिधीलाई नियन्त्रण गर्न प्रहरी सफल भएको दावी गरे ।

विप्लव समूहका तीन सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको जानकारी गराउँदै आईजीपी खनालले नेपालमा अपराध गरेर विदेश लुकेर बस्ने अभियुक्तलाई इन्टरपोलमार्फत कानूनी दायरामा ल्याइएको समेत बताए ।

जबर्जस्ती करणी, मानव बेचबिखन, ठगी र सुन प्रकरणमा बिदेशमा फरार भएका पाँच जनालाई इन्टरपोलको सहयोगमा पक्राउ गरी कानुनी दायरामा ल्याइएको आईजीपी खनालको भनाई थियो ।

निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले किन पक्राउ गर्न सकेन ? भन्ने प्रश्नको उत्तर दिंदै उनले यो प्रकरणमा शुरुमा नै प्रहरीको कमजोरी भेटिएको हुँदा अनुसन्धानमा दोषी ठहरिएका प्रहरी अधिकारीलाई समेत कारबाही गरिएको बताए । उनले अभियुक्तलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।

त्यस्तै, हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बम्जनलाई किन प्रकाउ नगरिएको ? भन्ने पत्रकारको जिज्ञाशामा आईजीपी खनालले उजुरी दिएका केही व्यक्तिले नै उजुरी फिर्ता लिएको र एथेष्ट प्रमाण नभएका कारण कानुनले पक्राउ गर्न नदिएको बताए । तर, उनले बम्जनमाथिको अनुसन्धान भने नरोकिएको बताए ।

आईजीपी खनालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल प्रहरीको छवी उच्च रहेको पनि दावी गरे । 

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुबेदीले गत बर्ष प्रहरीले दुई हजार २६३ फरार अभियुक्त पक्राउ, ४३५ अवैध हातहतियार वरामद, विभिन्न आपराधिक घटनामा ३८ हजार १५१ जनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए ।

प्रहरीले एक बर्षको अबधीमा एक अर्ब ९३ करोड ९६ लाख ६० हजार राजश्व सङ्कलन गरेको पनि सुवेदीले जानकारी गराए । बाल यौन दुराचारमा संलग्न रहेको आरोपमा ६ विदेशी र एकजना नेपालीलाई पक्राउ, विध्वंसात्मक गतिविधिमा संलग्न एक हजार ५१४ जनालाई पक्राउ एक हजार ३१३ जनाविरुद्द मुद्धा दायर गरिएको प्रहरीको रेकर्डमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले देशभरका विभिन्न स्थानमा दुई हजार ५५२ रोपनी जग्गा निशुल्क प्राप्त गरेको जनाएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउनका लागि प्रहरीले तीन महिने कार्ययोजना बनाएर काम गरिरहेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अपराध नियन्त्रणमा प्रभावकारी भएको भन्दै देशभरका ७५१ स्थानीय तहसँग सम्झौता गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

संगठन प्रमुखकाे विशेष पहलमा ट्राफिक प्रहरीकाे प्राेत्साहन भत्ता बृद्धि भएकाे जानकारी दिंदै प्रहरी प्रवक्ता सुवेदीले प्रोत्साहन भत्ताले ट्राफिक प्रहरीको मनोबल झन् बढेको उल्लेख गरे । नेपाल प्रहरीले आगामी दिनमा १२ हजार खाट निर्माण गर्नुका साथै देशभर ७०० मेस तथा शौचालय आवश्यक रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

Comments

Top