मानव बेचबिखन र साइबर अपराधको चपेटाबाट सुरक्षित राख्न दुई ब्युरोको स्थापना

saibar

 काठमाडौं। अपराधको विशिष्टीकृत अनुसन्धानका लागि नेपाल प्रहरीमा दुई नयाँ ब्युरो स्थापना भएका छन् । प्रविधिसम्बन्धी अपराधको अनुसन्धानका लागि केन्द्रीय साइबर ब्युरो तथा मानव बेचबिखनसम्बन्धी अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोको स्थापना भएको हो ।

 प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार नयाँ ब्युरोको कार्यालयको शुभारम्भ गरेका छन् । दुवै ब्युरोमा काम सुरु भएको भने महिनौँ बितिसकेको छ । डिआइजीको नेतृत्वमा हुने केन्द्रीय साइबर ब्युरोको कार्यालय भोटाहिटीमा तथा मानव बेचबिखन नियन्त्रण ब्युरोको कार्यालय बबरमहलमा राखिएको छ ।

 साइबर ब्युरोको प्रमुखमा डिआइजी विकास श्रेष्ठ तथा मानव बेचबिखन नियन्त्रण ब्युरोको प्रमुखमा एसएसपी ईश्वरराज कार्की छन् । साइबरसम्बन्धी ऐन हाल संसद्मा विचाराधीन छ । ऐन पास भएर नयाँ नियमावली बनेपछि मात्र ब्युरोले कानुनी रूपमा काम गर्न सक्छ ।

 प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन तथा साइबर अपराधको चपेटाबाट नागरिकलाई सुरक्षित राख्न दुवै ब्युरोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

 आगामी दिनमा दुवै ब्युरोलाई विज्ञ जनशक्ति, आवश्यक प्रविधि तथा साधनस्रोतसहित थप व्यवस्थित गर्दै लैजानेतर्फ संगठनको प्रयास रहने उनको भनाइ छ । विशिष्टीकृत किमिसको अपराध अनुसन्धानका लागि यसअघि नेपाल प्रहरीमा तीनवटा ब्युरो थिए । संगठित किसिमका अपराधको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), लागुऔषधसम्बन्धी अपराधको अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो(एनसिबी) तथा आतंकवादी तथा राज्यविरुद्धका अपराध अनुसन्धानका लागि विशेष ब्युरो(एसबी) छन् । (नयाँ पत्रिका )

 

Comments

Top