नेतृत्वको असन्तुष्टिका कारण कांग्रेसको जागरण अभियान फितलो

sher bahadur deuba_1

 काठमाडौं । पार्टीको तल्लो तहसम्म पुनर्ताजगी ल्याउन कांग्रेसले सुरु गरेको जागरण अभियान फितलो देखिएको छ । ७७ जिल्लाका सात सय ५३ स्थानीय तहसम्म कांग्रेसले जागरण अभियान व्यापक रूपमा गर्ने भने पनि पार्टीभित्रको लथालिङग संरचना र केन्द्रीय नेतृत्वमा रहेको असन्तुष्टिका कारण प्रभावकारी नदेखिएको हो ।

 जागरण अभियानलाई प्रभावकारी बनाउन नेतृत्वले अनुशासन समिति परिचालन गरेपनि पार्टीको संरचना प्रदेश र स्थानीय तहमा नबनाएका प्रभावकारी बन्न नसकेको हो ।

संविधान जारी भएको ४ चार वर्ष विते पनि कांग्रेसले मुलुकको नयाँ संरचना अनुसार पार्टीको आन्तरिक संगठन बनाउन सकेका छैन । कांग्रेसको १३ औं महाधिवेशनले नै प्रदेश तहमा संरचना बनाउने बाटो खोले पनि नेतृत्वले अहिलेसम्म प्रदेश समिति बनाउन सकेको छैन ।

 नयाँ संविधानपछि फरिएको निर्वाचन क्षेत्र र स्थानीय तहमा पनि कांग्रेसको संरचना बन्न सकेको छैन । गएको महासमिति बैठकले संविधान अनुसारको पार्टी विधान नयाँ बनाए पनि त्यसअनुरूप पार्टी संरचना बनाउन काम कांग्रेसले सुरु गर्न सकेका छैन ।
वैशाख ३ गते कांगेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको जागरण अभियानको औपचारिक जानकारी संचारमाध्यमलाई दिए लगतै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित सभापति इतर समूहका कतिपय नेताले असन्तुष्टि जनाएका थिए ।

उनीहरूले सभापति शेरबहादुर देउवाले आफूहरूसँग जागरण अभियानका बारेमा सल्लाह नगरेको आरोप लगाएका थिए । केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्यलाई जिल्ला–जिल्लाको प्रतिनिधि तोक्दा पनि सभापति देउवाले अन्य नेतासँग सल्लाह नगरेको आवाज पार्टी भित्र उठेको थियो ।

अनुशासन समितिले जागरण अभियानका क्रममा पार्टी नेतृत्वको आलोचना नगर्न र अभियानको अनुगमन गर्न कानुन व्यवसायीलाई खटाउने निर्णय सार्वजनिक गरेपछि पार्टी भित्र त्यसको झनै आलोचना भयो ।

(अन्नपूर्ण पोस्ट )

Comments

Top