नक्कली भारुका कारोबारी अन्सारी अण्डरवर्ल्ड डन दाउदका नेपाली एजेन्ट !

Yunus ansari and daid Ibrahim 1

   काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ भारतीय जाली नोटसहित ६ जना पक्राउ परेसँगै नेपालमा अन्डरवर्ल्ड डन दाउद इब्राहिमको सञ्जालको बारेमा खोजी शुरु भएको छ ।

कतार एयरवेजबाट नेपाल आएका पाकिस्तानी नागरिकहरु महम्मद अनवर, अख्तर महम्मद र उद्धिन नसिरलाई प्रहरीको विशेष ब्यूरो, विमानस्थल प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले उक्त परिमाणको नक्कली भारुसहित पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई रिसिभ गर्न पुगेका युनुस अन्सारी, सोयल खान र सवारी चालक सुदन रानाभाटलाई पनि पक्राउ गरेको छ ।

युनुस यसअघि पनि पटक–पटक पक्राउ परी छुटेका व्यक्ति हुन्। यसअघि उनलाई प्रहरीले २०६५ पुस १८ गते ललितपुरको नख्खुस्थित उनकै घरबाट पक्राउ गरेको थियो । पक्राउ परेको २ वर्षपछि जेलमा रहेका बेला २०६७ फागुन २६ गते सुन्धारास्थित केन्द्रीय कारागारको गेटमै उनीमाथि गोली प्रहार भएको थियो ।

केन्द्रिय कारागारमा सजाय काटिरहेका बेला उनीमाथि भारतीय नागरिक मनमित सिंहले गोली प्रहार गरेका थिए । तर, उनी सकुशल रहेका थिए।

३ वर्ष ९ महिना कारागार भुक्तान गरेका अन्सारी दोस्रो पटक २०६६ पुस ७ गते थापाथलीस्थित ब्लू स्टार कम्प्लेक्सबाट २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय रुपैयाँ र ३ किलो ७ सय ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।

त्यसपछि पनि उनी जाली नोट कारोबार र अवैध लागूऔषध कारोबारको अभियोगमा फेरि कारागार चलान भए । जेलबाट छुटेपछि अन्सारी जाली नोटको धन्दामा सक्रिय नै रहे ।

त्यसपछि ११ माघ २०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो।त्यतिबेला युनुस जेल सजाय भुक्तान गरी २०७४ चैत २ गते छुटेका थिए ।

अहिलेसम्म युनुस चार पटक पक्राउ परिसकेका छन् । यो घटनाले पनि उनी नक्कली भारतीय नोटको कारोबारी रहेको पुष्टि गर्छ ।

युनुस अन्डरवर्ल्ड दन दाउद इब्राहिमका नेपाल एजेन्ट रहेको भन्दै भारतीय गुप्तचर निकायले आरोप लगाउँदै आएको छ । नेपालका क्यासिनोदेखि हाउजिङ हुँदै नेटवर्किङको व्यबसायमा समेत दाउदको लगानी रहेको भारतीय पक्षले आरोप लगाउँदै आएको छ।

पाकिस्तानमा बसेर भारतविरोधी काम गर्दै आएका दाउद मुम्बइ विष्फोटका योजनाकार समेत हुन् ।

यसअघि नक्कली भारुको कारोबारमा संलग्न रहेको आरोप लगाउँदै सञ्चार उद्यमी जमीम शाहमाथि भारतीय जासुसी संस्थाद्धारा परिचालित समूहले गोली प्रहार गरी हत्या गरेको खुलेको थियो ।

युनुस जेल जानु अघि नेशनल टेलिभिजनका सञ्चालक समेत थिए । पाकिस्तानबाट कतार हुँदै नेपाल ल्याइएको जाली नोटका योजनाकार पनि उनै युनुस रहेको प्रहरीको आशंका छ ।

पछिल्लो समय काठमाडौं प्रहरीले अवैध नेटवर्किङको धन्दामा सक्रिय २० जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । उनीहरु पनि दाउद निकट रहेको प्रहरी स्रोत बताउँछ ।

Comments

Top