आईजीपी खनाल भन्छन - गुप्तचरकै कारण विप्लव समूहका सयौँ नेता र कार्यकर्ता पक्राउ गरेका छौँ 

igpkhanaln_1

 काठमाडौं। बन्द सफल पार्न विस्फोट गर्ने योजना बनाएका सरकारद्वारा प्रतिन्बन्धित विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अगाडि नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

 सोमबार बिहान ४:१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४:१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ ।

 सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका बिभिन्न ठाउँमा बम भेटिएका थिए । सूचना र सुरक्षामा प्रहरी कमजोर देखिएको हो त ? भन्ने प्रश्नको उत्तर दिंदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भन्छन- 'प्रहरीसँग प्रस्ट योजना छ । योजनाअनुसार नै हामीले काम गरिरहेका छौँ । हाम्रो योजनाकै कारण उनीहरूले घरबाट बाहिर निस्किएर विस्फोट गर्न नसकेका हुन् । प्रहरीको उपस्थितिले नै घरभित्रै उनीहरू आत्तिएर बम पड्किने अवस्था आएको छ । प्रहरी बलियो भएकाले नै सर्वसाधारणलाई लक्षित गरेर विस्फोट गर्ने उनीहरूको योजना असफल भएको हो ।'

 गुप्तचर संयन्त्रमा उठाइएको  प्रश्नबारे आईजीपी खनाल भन्छन- 'गुप्तचरकै कारण उनीहरूका सयौँ नेता र कार्यकर्ता पक्राउ गरेका छौँ ।  कोटेश्वरमा कुकरसहित सातजना पक्राउ गर्न सफल भएका छौँ । त्यसकारण गुप्तचर कमजोर भन्न मिल्दैन । प्रहरीले आफ्नो तरिकाले काम गरिरहेकै छन् । कमजोर भएका छैनन् । स्रोतसाधनको समस्याका बाबजुद प्रहरी आफ्नोतर्फबाट शान्तिसुरक्षा कायम गर्न लागिपरेकै छ ।' (नयाँ पत्रिका )

Comments

Top