काठमाडौं । पर्साका आठ वर्षीय बालक करण साहको अपहरणपछि हत्या गर्ने तीन जनालाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । १० गते शुक्रबार विहानको १० बजे बीरगञ्जबाट अपहरणमा परेका बालक साहको कैलैया उपमहानगरपालिका–२५ मा रहेको खोलाको किनारमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
प्रदेश प्रहरी कार्यालय जनकपुर, पर्सा प्रहरी र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको हो । शुक्रबार राती प्रहरीले अपहरणको खबर पाए लगत्तै प्रहरी खोजीमा जुटेको थियो ।
साहको हत्यामा संलग्न रहेकाहरुमध्ये एक भारतीयसहित दुईजनामाथि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । उनीहरु तीनैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एक जनालाई भने गोली लागेको छैन ।
प्रहरीका अनुसार भारत विहारका बिकास शर्मा, कलैया नगरपालिका वडा नम्बर ८ का राम बिनेश महतो र बारा कलैयाका शिकेन्द्र शाहले अपहरणपछि हत्या गरेका थिए ।
प्रहरीको गोली लागेर शर्मा र सिकेन्द्र साह घाइते भएका छन् । रामविनेशलाई भने गोली लागेको छैन ।
अपहरणकारीहरुले बच्चाको हत्या गर्नु अगाडी नै बच्चाको बोली रेकर्ड गरेर हत्या गरेका थिए । त्यसपछि उक्त अडियो सुनाएर फिरौती मागिएको थियो ।
उनीहरुले करणको परिवारसँग सुरुमा ३० लाख फिरौती रकम मागेको र अन्त्यमा पाँच लाख दिने सहमति भएको भएपनि उनीहरुले शुक्रबार राति नै बालकको हत्या गरेको प्रारम्भीक अनुसन्धाबाट खुलेको छ ।
Comments