नेपाल भारत योग प्रर्वद्धन कार्यक्रम हुँदै

yog

  काठमाडौं । नेपाल भित्रका योगिक संस्थाहरु एवं अमेरिकाको फ्लोरिडा स्थित योग युनिभर्सिटी अफ अमेरिकाजको संयुक्त आयोजनामा आज काठमाडौंमा नेपाल भारत योग प्रर्वद्धन कार्यक्रम हुँदैछ ।

आज (विहिबार) नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुन लागेको कार्यक्रममा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र दक्षिण भारतका प्रसिद्ध धर्मगुरु श्रीअरलु मल्लिगे पार्थसारथी गुरुजीको पावन सान्निध्यमा विभिन्न आर्कषक योगिक प्रस्तुति हुने छन् ।

दिउँसो २ बजेबाट कार्यक्रम शुरु हुने कार्यक्रमका समन्वयकर्ता डा. हेमराज कोईरालाले जानकारी गराए ।

योगको विधिवत अध्ययन अध्यापन गराउने लक्ष्य लिएर स्थापीत भएको योग युनिर्भसिटी अमेरिकाजले नेपालको योग शिक्षाको गुणस्तरीय विकासका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा नेपालका योग अनुरागी मित्रहरुसँग सम्वाद गर्ने उद्देश्यले योग प्रर्वद्धन कार्यक्रम आयोजन गर्न लागेको युनिर्भसिटीका भाईस चान्सलर डा. योगी देवराजले बताएका छन् ।


योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका प्रमुख अभियान्ता डा. हरिप्रसाद पोखरेलले देवताहरुको देश, ऋषिमुनिहरुको तपस्थली, साधनाको लागि विश्वविख्यात स्थान र भगवान् पशुपतीनाथको देश, शिवसभ्यता, जनकसभ्यता र बुद्धसभ्यताको त्रिवेणी, योगको जन्म र विकासभूमि, हिमवत्खण्ड र मानसखण्डको बीच पशुपतीनाथ, मुक्तिनाथ जस्ता पवित्र तिर्थस्थलहरुले संरक्षित नेपालको भूमिबाट योगको कार्यक्रम शुरुवात गर्न पाउँदा आयोजक पक्ष गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् ।

उनले कार्यक्रममा सम्पुर्ण नेपाली योगप्रेमीहरुको साथ, सहयोग र समन्वय अपरिहार्य रहेको पनि बताए । कार्यक्रममा भाग लिन अमेरिका, कम्बोडिया, मलेसिया, भारतलगायतका विभिन्न मुलुकहरुबाट सय भन्दा बढी योग प्रेमी तथा विद्धवानहरु नेपाल जम्मा भइसकेका छन् ।

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, संघीय एवं प्रादेशिक माननीयहरु, योग क्षेत्रका विशेषज्ञहरु, पत्रकारहरु, समाजसेवी, योग संस्थाहरुका प्रतिनिधि एवं योग साधकहरुलगायतको उपस्थिति रहने छ । सहभागी सम्पूर्णलाई निःशुल्क प्रवेश पासको व्यवस्था मिलाइएको पनि आयोजकले जनाएको छ ।

Comments

Top