प्रधानमन्त्री देउवाको दिल्ली अभिव्यक्तिप्रति एमालेको गंभीर आपत्ति 

काठमाडौँ : नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठकले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्ति प्रति गम्भीर आपत्ति प्रकट गरेको छ। पार्टी अध्यक्ष उपचारका लागि विदेशमा रहेको बेला कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले संविधानप्रति प्रधानमन्त्री देउवाले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको हो । बैठकको निर्णयबारे जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ-'संविधान संशोधनको बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आन्तरिक मामलामा वाह्य पक्षलाई सङ्लग्न गराउने हानीकारक काम मात्रै गरेको छैन, यसले संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभा तथा सार्वभौम व्यवस्थापिका–संसदको अपमान समेत गरेको छ।' 'संसदमा मतदान भएर विधिपूर्वक टुङ्गिइसकेको र असन्तुष्ट दलहरुले परिणाम स्वीकार गरेर निर्वाचनमा सहभागी हुन सहमत भइसकेको यथार्थलाई अवमूल्यन गर्दै संविधानको ‘स्वीकार्यता’को अनुचित विवाद उठाउनुले नेपालको संविधानप्रति स्वयं प्रधानमन्त्रीको निष्ठामाथि समेत प्रश्नचिह्न खडा गरेको बैठकले ठहर गरेको छ', विज्ञप्तिमा भनिएको छ-'नेकपा एमाले प्रधानमन्त्रीका यी गलत अभिव्यक्तिप्रति गंभीर आपत्ति प्रकट गर्दछ।' नेपालको तराई भूभागलाई बर्षेनी डुबानमा पार्ने तथा यो बर्षको विनाशकारी डुबानको मुख्य कारकको रुपमा रहेका भारतीय सीमामा एकतर्फी ढङ्गले बनाइएका बाँध तथा अन्य संरचनाका बिषयमा गंभीर छलफल गरी दिगो समाधान खोज्न, नेपालको व्यापार घाटा कम गर्नका लागि नेपालका कृषि तथा औद्योगिक उत्पादनहरुलाई भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्न, बर्षौंदेखि अधुरा रहेका परियोजनालाई यथाशीघ्र सम्पन्न गर्न एवं नेपालको राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिन हाम्रो पार्टी लगायत विभिन्न राजनीतिक दलले दिएको सुझाव र आम नेपाली जनताको भावनाको यथोचित सम्मान प्रधानमन्त्रीबाट हुन नसकेको बैठकले निष्कर्ष निकालेकोछ। नेपालले जलविद्युत लगायत नवीकरणीय उर्जाका माध्यमबाट इन्धनमा आत्मनिर्भरता हासिल गर्ने दिशामा अग्रसर भइरहेको परिप्रेक्ष्यमा प्राकृतिक तथा एलपिजी ग्यास पाइपलाइन बिछ्याउने समझदारीले नेपाललाई थप परनिर्भर बनाउन सक्ने तथ्यप्रति पार्टीले चासो व्यक्त गरेको छ। त्यसरी नै, राष्ट्रिय योजना आयोग र भारतको नीति आयोगबीच बर्षेनी नीतिगत परामर्श गर्ने वाध्यात्मक प्रावधान आवश्यक नरहेको समेत बैठकको निष्कर्ष छ।

Comments

Top