हँसियाले घाँटी रेटेर महिलाको हत्या गर्ने पक्राउ

hatya_1

  काठमाडौं । देशमा हत्या, हिंसा र बलात्कारका घटना दिन प्रतिदन बढिरहेका छन् । आफ्नै छरछिमेकी र नातागोताबाटै यस्ता अप्रिय घटना हुँदै गएकाले प्रहरीले पनि त्यसलाई नियन्त्रण गर्न सकेको छैन ।

हिजो मात्रै धनुषा प्रहरीले ‘शक्तिशाली’ धामी बन्नका लागि साढे दुई वर्षका बालकको हँसियाले रेटेर बलि दिने एक धामीलाई पक्राउ गरेको थियो । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा स्थानिय शत्रुधन महतोले आफ्नै छिमेकी शम्भु साहका साढे दुई वर्षका छोरा आर्यनको हँसियाले रेटेर बलि अढाएको खुलेको हो ।

आज पनि बझाङमा त्यस्तै क्रुर तरिकाले एक महिलाको हत्या भएको सार्वजनिक भएको छ । तर, बझाङ प्रहरी भने घटनाको केही समय पछि नै अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।

सुर्मा गाउँपालिका वडा ४ गौखेडाका लक्की पुजाराकी श्रीमती २५ वर्षीया जुना पुजाराको नाताले काका पर्ने छिमेकी लोकेन्द्र पुजाराले हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धारामा लुगा धोइरहेका बेला लोकेन्द्रले हँसियाले घाँटी रेटेर नाको हत्या गरेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरासयी विवादका कारण जुनाको हत्या भएको खुलेको छ । 

हत्या आरोपी लोकेन्द्र पुजारालाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी सुर्यबहादुर केसीले बताए ।

Comments

Top