काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा आईतबार राति प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताको गतिविधि बढे लगत्तै सोमबार बिहानबाटै सुरक्षा सतर्कता बढाइएको छ ।
गएराति छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न २५–३० जनाको समूहमा विप्लवका कार्यकर्ताको प्रयास असफल भएको प्रहरीको अनुमान थियो । कतिपयले सञ्चार माध्यमहरुले आक्रमण नै भएको दाबी गरेपनि चौकी नजिकै रहेका स्थानीय र गृह मन्त्रालयले नै आक्रमण नभएको जानकारी गराइसकेका छन् ।
यता, चन्द समूहका कार्यकर्ताहरुले भने आक्रमणका लागि चौकीमा पुग्दा प्रहरीहरु भागेर कोही नभएको दाबी गरेका छन् । असईको कमाण्डमा रहेको चौकीमा सातजनाको दरबन्दी भएपनि आईतबार चारजना मात्र रहेको जनाइएको छ ।
प्रमूख जिल्ला अधिकारी नरेन्द्र मगरले आक्रमण नभएको भन्दै विप्लव समूहको गतिविधि बढेको देखेर जिल्लाकै केही सुरक्षाकर्मी त्यता तर्फ पठाइएको बताए ।
स्रोतका अनुसार केही हतियारधारी गाउँ पसेको सूचना आएलगत्तै चौकी खाली गरेर प्रहरी अन्यत्रै सरेका थिए ।
यसैबीच चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो ।
सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको स्रोतको दावी छ ।
Comments