विद्यालयमा ढिलो आएको भन्दै पाँच जना विद्यार्थीको हात भाँच्ने शिक्षिका पक्राउ

student

   काठमाडौं । स्कुलमा विद्यार्थी ढिलो आएको भन्दै हात नै भाँचिने गरी कुटपिट गर्ने एक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले जेठ १२ गते १४ जना विद्यार्थीहरुलाई ढिलो आएको भन्दै कुटपिट गरेकी थिइन् ।

पुनको कुटाइबाट पाँच जना बालिकाको हात भाँचिएको छ भने ९ जना सामान्य घाइते भएका छन् । सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

यता, पुनले भने विद्यालयमा ढिला आएको भन्दै अनुशासन कायम राख्न आफूले विद्यार्थीलाई कारबाही गरेको शिक्षिका पुनको भनाइ छ।

प्रधानाध्यापक झगबहादुर भण्डारीले गत जेठ १२ गते पुनलाई निमित्त प्रअको जिम्मेवारी लक्ष्मी पुनलाई दिएर होलेरी गएका थिए। सोही दिन पुनले ढिला आएको भन्दै विद्यार्थीलाई कुटपिट गरेकी थिइन्।

उनको कुटाइले निर्मला पुन, गौरी घर्ती, विमला रोका, शान्ता नेपाली र भिमकुमारी बाँठाको हात भाँचिएको छ। हात भाँचिएका उनीहरु उपचारका लागि दाङ आएका थिए।

Comments

Top