रसुवामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ बेपत्ता, ५ घाइते

accident

  काठमाडौं। रसुवामा एक यात्रुवाहक जिप दुर्घटना हुँदा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता भएका छन् । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

पोखरा भ्रमणमा गएर फर्किएका गाउँले सवार जीप रसुवाको कालिका गाउँपालिका र गोकाइकुण्ड गाउँपालिकाको सीमानामा पर्ने गुम्चेतमा दुर्घटनामा परेको हो ।

चालकसहित ११ जना यात्रु बोकेर वेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै गोल्जुङ हिँडेको बा१०च ५८२० नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त जिप सडकबाट १ सय मिटर तल नदीमा खसेर डुबेको छ । कच्ची र साँघुरो सडकका कारण जीप दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
दुर्घटनामा परी आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका ३२ वर्षीया साहिली घले, ३५ वर्षीया मेन्दु घले र ३२ वर्षीय नोर्बु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।


दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ कै ३ जना हराइरहेका छन् । पासाङ्दे घले, कामी याङ्जेन तामाङ र त्लेतङ घले हराएका हुन् । उनीहरुको नदीमा डुबेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । चालक निमा तामाङ, उनको छोरा र श्रीमती घाइते भएका छन् । घाइतेमध्ये निमा, जौरानी घले र फुर्वु योञ्जन तामाङको अवस्था गम्भीर छ ।

 

Comments

Top