बस्नेत र मोदीका माग जायज छन्

modi, kulman and mahesh

   आजकाल फेसबुक, यूटयूब र केही मिडियाका मार्फत केही मानिसहरुलाई भरमार देवत्करण क्रम बढेको छ । यो जायज हो वा होइन् छुट्याउने काम सरकार भनौं वा सम्बन्धित निकायकै होला । हामी त्यतातिर नजाऔं । यहाँ मैले उठाउन खोजेको प्रसंग अलि फरक छ ।

हुनत यतिबेला राजधानीलगायत मुख्य शहरहरुमा लोडसेडिङ मुक्त बनाएर हाइहाइ कमाएका नेपालमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङ र  २०७२ सालको भूकम्पपछि मानव वस्ती बनाएर अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिपरेका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले कहि कतै गलत त गरेका छैनन भन्ने प्रसंग निकाल्दा पनि समाजिक सञ्जालमा गाली बर्सिन्छन् ।

तरपनि मैले आज यसै विषयमा केही लेख्ने जमर्को गरे ।

यसमा कुनै विवाद छैन कि कुलमानले लोडसेडीङको अन्त्य गर्न पहल गरेकै हुन् । तर, लामो समय लोडसेडीङको झट्का लागेकाले लोडसेडीङ हट्नु हाम्रो लागि इश्वरको बरदान सरह भयो, जुन स्वाभाविक पनि हो ।

उता धुर्मुस सुन्तलीले पनि फाउण्डेसनमार्फत चितवनमा रंगशाला निर्माण गर्ने प्रतिवद्धता अनुसार काम गरिरहेका छन् । काम गर्दै गर्दा स्थानीयबासीले निर्माण स्थलको तारबार भत्काएपछि त्यहाँ पनि विवाद उत्पन्न भयो ।

सरकारले अन्तर्राष्टिय स्तरको कुनै पनि रंगशाला निर्माण गर्न नसकिरहेका बेला धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला बनाउने जिम्मा लिनु सह्राहनीय काम हो । तर, फाउण्डेसनले त्यति ठूलो (३ अर्ब) बराबरको रकम खर्च गरेर काम गर्न पाउने नपाउने त्यो फरक पाटो हुनसक्छ ।

त्यसमाथि पनि राज्यले गर्नुपर्ने काममा ट्याक्स भ्याट तिरिरहेका नेपालीहरुबाटै पुनः रकम उठाएर रंगशाला बनाउँदा अप्रत्यक्ष रुपमा तिनै जनतालाई नै दोहोरो भार परिरहेकोप्रति भने न त सरकारले नै ध्यान दिएको छ न त तिनै रकम दिने व्यक्तिहरुले नै ।

गायक पशुपती शर्माले भनेजस्तै 'लुट्न सके लुट कान्छा, लुट्न सके लुट' भनेर कमाएकाहरुलाई त केही फरक परेन र समाज सेवामा अलिकती खर्च गर्न पनि गाह्रो छैन । तर, तपाई हामी जस्ता सर्वसाधरण जसले राज्यको उन्नती र प्रगतीका लागि राज्यलाई कर तिररहेका छौं । फेरि हामीले नै रंगशाला बनाउन रकम दिनुपर्ने ?

प्रश्न यहाँनेर खडा भएको हो ।

हामी भावनामा डुबेर कसैलाई सहयोग (सपोर्ट) त गर्छौं, तर कतै उसले गरेको कामले हामी सबैलाई अप्ठेरो त पारेको छैन भन्ने प्रश्न पनि त सोच्न जरुरी छ ।

धुर्मुस सुन्तली फाउन्डेसन र नेपाल विद्युत प्राधिकरणका केही काम कारबाहीका कारण देशले आर्थिक अबन्नती ब्योहर्नु परेकोप्रति प्रश्न उठाउँदा किन यति ठूलो आरोप र आक्रोश ? छानविन हुँदैमा त केही नराम्रो भइहाल्ने पनि त होइन् ।

एकाध असल काम गर्ने मानिसहरु सँधैभरी असल भइरहन्छन् भन्ने पनि त छैन । प्रचण्डले पनि गणतन्त्रका लागि हतियार उठाए, तर उनी लडाकुको राशनदेखि एनसेल कर प्रकरण अनि नाताबाद र परिवारबादमा चुर्लुम्म डुबे ।

आरके मैनाली कत्रा क्रान्तिकारी थिए, राजाको सरकारमा मन्त्री हुन गए । मोदनाथ प्रश्रीतले गोलघरको सन्देश लेखे, तर गौथलीको गुँडदेखि मणिपाल कलेजसम्ममा फसे ।

अन्दोलनमा लागेबापत शेरबहादुर देउवाजीको ओठमा मण्डलेहरुले हानेको ढुँगाको खत अझै होला । तर, के गर्ने प्रजातन्त्र किस्तीमा राखेर राजालाई बुझाए ।

अतः एक पटक असल हुनासाथ कोही पनि मानिस सदा असल भइरहन सक्दैन । यो नेपाली समाज हो जहाँ गणेशमानजी पनि पुत्र र पत्नी मोहमा फसे । किसुनजी 'जनआन्दोलन पिडित राहत कोष'को बितरणमा ओभानो हुन सकेनन् ।

कुलमानजीले हामीलाई लोडसेडीङ मुक्त गराए । धुर्मुस सुन्तलीले सरकारले गर्न नसकेको काम गरे । बस्ती नै बनाए । यो भन्दैमा उनीहरुले अब जे गरे पनि राम्रै हुन्छ भन्न सकिन्न । मानिसको मन हो, बरालीन बेर लाग्दैन ।

अतः संसदमा, मिडियामा र आम जनतामाझ उहाँहरुका बारेमा पनि प्रश्न उठाउन पाइन्छ र उठाउनुपर्छ । 

कुलमानजीको संस्कार र चेत कुन हदसम्मको हो भन्ने कुरा त उनले फिल्डमा गएर जनतालाई ‘बन्द गरीस भने तँलाई थुन्दीन्छु’ भनेबाटै स्पष्ट हुँदैन र ? जनताको अपार समर्थन, शासकहरुको भरथेग र लोकप्रियताका कारण उहाँमा दम्भ कुन हदसम्म बढेको रहेछ भने उनले आफैलाई प्रहरी प्रशासनको अथोरीटी ठाने ।

उनी कर्मचारी हुन्, प्रहरी होइनन्। त्यसैले प्रहरीका एसपी या डिएसपीले जस्तो तँलाई थुन्दीन्छु भन्दै हिँडनु धाक धम्कीको भाषा हो र लोकतन्त्रमा यसरी धाक धम्की दिदै हिंडन कसैलाई पनि छुट छैन ।

नियम बमोजिम काम गर्न हरेक निकाय छन्, तिनले काम गर्छन् । कसैलाई ओभर स्मार्ट हुने छुट कानूनले दिएको छैन । शिष्ट मानिसले ‘भ्रष्टाचार प्रमाणित भएमा कानून बमोजिम सजाय भोग्न तयार छु’ भन्छ, तर कुलमान र धुर्मुसले जस्तो ‘झुण्डीएर मर्न तयार छु’ भने, जुन सोभनीय भाषा हैन । झुण्डीएर मर्ने छुट कानूनमा छैन ।

यसो भन्दै गर्दा मैले कुलमान र धुर्मुस सुन्तलीको विरोध गर्न खोजेको पक्कै होइन् । पछिल्लो समय रंगशाला काण्ड पनि विवादित बनेको छ । स्थानीय स्तरमा नै विवाद निस्किएपछि त्यहाँ भित्रको यथार्थ कुराहरु विस्तारै बाहिर आउँदै छन् । यतिमात्र भन्न खोजेको हो, कहि कतै नराम्रो हुन खोज्छ भने त्यहाँ अनुसन्धान हुन जरुरी छ ।

त्यसमा न त कुलमान जस्ता बुद्धिजीव पात्र रिसाउन मिल्छ न त धुर्मुस र कुञ्जना जस्ता समाजसेवी पात्र नै । हाम्रो चाहना भनेको यतिसम्म हाइहाइ कमाएका व्यक्तिहरुबाट जान अनजानमा कहि कतै र कहिल्यै पनि गल्ती नहुन् भन्ने नै हो । उनीहरुलाई सिधै जेल हालेर कारबाही गर्नुपर्छ भन्ने होइन् ।

बस, अन्त्यमा मेरो कुरो यत्ति हो र संसदको सार्वजनिक लेखा समितिमा सांसद अमन मोदी र प्रतिनिधिसभा बैठकमा महेश बस्नेतले उठाएको कुरा जायज हुन्, यहाँ कसैले पनि मिडियाबाजी नगर्दै राम्रो ।

स्मरण होस्, लेखा समितिमा मोदीले प्राधिकरणले ९ अर्ब बढी बक्यौता नउठेको र भारतबाट खरिद गरिएको विजुली खपत गरे पनि र नगरे पनि रकम तिर्नुपर्ने विषयमा कुलमानसँग प्रश्न गरेका थिए भने सांसद बस्नेतले आजको प्रतिनिधिसभा बैठकमा मोदीले उठाएका माग जायज हुन् भनेर बोलेका थिए ।

Comments

Top