इद उल फित्रको अवसरमा आज सार्वजनिक बिदा

eid

  काठमाडौं । सरकारले मुस्लिम समुदायको महान पर्व इद उल फित्रको अवसरमा आज सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको एक साताअघिको वैठकले इदमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

अरबी पात्रो हिजरी सम्वतअनुसार दशौं महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशिर्वाद लिने तथा आफूभन्दा सानालाई आशिर्वाद दिने गरिन्छ ।

आशिर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

आज घण्टाघरमै रहेको काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ । पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरान’ मा उल्लेख छ ।

यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ ।

Comments

Top