धार्मिक आस्थाका रुपमा दिने पशुबली अन्त्य गर्न माग

pashubali

  काठमाडौं । नेपालमा धार्मिक आस्थाका रुपमा दिइने पशुबलीलाई अन्त्य गर्नु पर्नेमा पशुअधिकार सँग सम्बन्धीतहरुले जोड दिएका छन् ।

नेपालमा धार्मीक पशुवली निरुत्साहीत गर्न केन्द्रीय सरोकारवालाहरुको भूमिक विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले धार्मीक आस्थाका रुपमा दिइने बलीले पशुहरुको बाँच्न पाउने अधिकारको हनन भएको भन्दै त्यस्तो कार्य रोक्नु पर्ने माग गरेका हुन् ।

नेपालको सबैभन्दा बढी बली दिइने बारको गढीमाई मन्दिरमा पशुबली कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत छलफलमा सहभागीहरुले पशुबलीलाई तत्काल अन्त्य गर्न नसकिए पनि न्युनीकरण भने गर्न सकिने बताएका थिए ।

नेपालमा पशु कल्याण तथा पशुपंक्षीहरुको संरक्षणमा काम गर्दै आएको संस्था स्नेहाज केयर तथा पशुकल्याण संघ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठले आफू विगत ५ वर्षदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको बताउँदै पशुअधिकारका बारेमा मानिसहरुमा ज्ञानको अभाव रहेको बताइन् ।

यद्यपी पछिल्लो समयमा सञ्चार माध्यमहरुको सहयोगका कारण पशुअधिकारको विषयमा आवज उठाउन सहज भएको उनको भनाई थियो ।

उनले भनिन्–‘म नेवार समुदायको महिला हुँ मेरो समुदायमा पनि पशुबलीको प्रचलन छ म पनि यस क्षेत्रमा लाग्नु पहिले रोजेर कुन खसी मोटो छ भनेर काट्न लगाउँथे । तर, आफूले पशुको पनि मानिसहरुको जस्तै बाँच्न पाउने अधिकार छ भनेर बुझेपछि म अहिले पुशअधिकारकर्मी भएकी छु ।

सर्वप्रथम मनिसमा चेतना जगाउनु अवश्यक रहेको श्रेष्ठको भनाई छ । सुरुसुरुमा पशुअधिकारका कुरा गर्दा र छाडाछाडीएका पशुहरुलाई आफुले संरक्षण गर्छु भन्दा हाँसोको पात्र भएपनि अहिले भने सबैले माया गर्ने गरेको उनले बताइन् ।

उनले पशुअधिकार तथा पशुबलीको अन्त्यका लालागि आम सञ्चारको भूमिका आगामी दिनमा पनि अझै शसक्त हुनुपर्ने धारणा पनि व्यक्त गरिन् ।

कार्यक्रममा केन्द्रीय रेफरल भेटनरी अस्पतालका प्रमुख डा. बलराम थापाले नेपालमा पशुबलीको अवस्था र पशुकल्याण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपलको संविधानमा मानव अधिकार सम्बन्धी व्यावस्था भएपनि पुश अधिकारका बारेमा एउटा पनि कानून नबनेको बताए ।

थापाले भने–‘मानव अधिकारका बारेमा संविधानमा विभिन्न अधिकारको व्यवस्था गरिएको छ । तर। तिनै पुशको उपयोग गरेर मानव जीवन चल्ने भएपनि पशुअधिकारका विषयमा कानून मौन बसेको छ ।’

अमेरिकामा ९१ प्रतिशतले मासु खाने तथा नेपालका जम्मा १२ प्रतिशतले मात्रै दैनिक मासु खाने गरेपनि नेपालको पुशपक्षी बध गर्ने तथा मासु खाने प्रवृत्ति व्यवस्थित हुन नसकेको थापाले बताए । उनले पुशबलीको विकल्प खोज्न आवश्यक रहेको पनि औंल्याए ।

पशुअधिकारको क्षेत्रमा काम गर्ने संस्था एच एस आई नेपालका प्रतिनिधी तनुजा बस्नेतले पशुबलीको अन्त्य गर्न कानूनकै प्रयोग गनुपर्ने बताइन् ।

श्रीलंकामा पशुबलीमाथी लगाइएको प्रतिबन्ध प्रभावकारी भएको स्मरण गर्दै उनले नेपालमा पनि प्रतिबन्ध लगाउन सरकारले ध्यान दिनुपर्ने बताइन् ।

आफुहरु आवद्ध संस्थाले पशुबलीको रोकथाम गर्नका लागि केही सहयोगी भूमिका निर्वाह गर्न सके पनि तत्कालै अन्त्य गर्न भने नसक्ने बस्नेतले बताइन् ।

पशुकल्याण संघ नेपालका प्रतिनिधी रुपक कोइरालाले आफ्नो संस्थाले गढीमाइमा पशुबली रोक्नका लागि सन् २००९ देखि काम गर्दै आएको बताए । उनले गढीमाइको मन्दिरमा करिब ३ लाख ५० हजार पशुको बली दिइने गरेको र त्यसमा ६० देखि ६५ प्रतिशत भारतीयहरुले बली चढाउने गरेको बताए ।

उनले पशुबली दिनुहुँदैन भनेर जानकरी भएपनि धार्मीक एवं सांस्कृतीक आस्थाका कारण मानिसहरुले त्यस्तो कार्य त्याग्न नसकेको अनुभव सुनाए ।

पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले सरकार पशुकल्याण सम्बन्धी ऐन ल्याउन लागेको जानकारी दिँदै गढीमाइ मन्दिरमा हुने पशुबलीलाई व्यवस्थीत गर्न मन्त्रालय लागि परेको बताए ।

उनले आगामी मंसिरमा हुने गढीमाइको मेलामा हुने पशुबलीलाई निरुत्साहीत गर्न क्वारेन्टाइन चेकपोष्टमा कडाई गरिने बताए । नेपालका तीन तहको सरकार बनी सकेको अवस्थामा सबैको सहकार्यले मात्रै पशुबलीलाई न्युनीकरण गर्न सकिने डा. निर्मलको भनाई थियो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्व सचिव कृष्णचन्द्र पौडेलले संयुक्त कार्यदल बनाएर पुशबलीको विरुद्धमा लाग्नुपर्ने धारणा राखे । उनले भने–‘गढीमाईको कुरा गर्दा नेपालबाट मात्रै नभई भारतबाट पनि बली दिनको लागि ठूलो सङ्ख्यामा पशुहरु नेपालमा ल्याउने गरिएको छ । त्यसका लागि नेपालबाट मात्रै पहल गरेर हुँदैन भारत सरकारसँग पनि समन्वय गर्न आवश्यक छ ।’

पशुसेवा विभागका रजिष्टार नारायणप्रसाद घिमिरेले पशुकल्याण सम्बन्धी ऐन बनाउने जिम्मा आफूहरुलाई दिए एक महिना भित्रै ऐन तयार गरिदिने भन्दै यस विषयमा विभाग गम्भिर रहेको बताए ।

कार्यक्रममा अधिवक्ता पदमबहादुर श्रेष्ठले पशुहरुको अधिकारको लागि सम्बन्धित निकायलाई निरन्तर घचघचाउँदा पनि कुनै सुनुवाई नभएकोमा दुखेसो पोखे । उनले भने–‘पशुको कल्याण पनि हुन नसकेको सन्दर्भमा पशु अधिकारका कुरा निकै परको विषय भएको बताए ।

कार्यक्रममा पूर्व मन्त्री कलावतीदेवी पासवानले गढीमाईमा हुने पशुबली रोक्नका लागि आफूले सन् २००९ देखि नै अभियान चलाए पनि सरकारले सहयोग नगरेको बताइन् ।

उनले केही जागरण स्थानीयमा जागउन सके पनि गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय आफूहरुको बाधकको रुपमा खडा भएको दुखेसो पोखिन् ।

‘भारतबाट कसैले कुखुराको चल्ला ल्यायो भने प्रहरीले अबैध भनेर नियन्त्रणमा लिन्छ । तर, गढीमाइमा बली दिनको लागि भारतदेखि नेपालका विभिन्न क्षेत्रबाट हजारौंको सङ्ख्यामा हाँस, कुखुरा, राँगा लागिन्छ त्यसमा कुनै रोकतोक छैन यो कस्तो कानून हो ? उनले आक्रोश पोख्दै भनिन् ।

उनले आगामी दिनमा पनी पशुबलीको विरुद्धमा आफ्नो अभियान जारी रहने बताइन् ।

त्यस्तै स्नेहाज केयरका प्रतिनिधी कपिल काफ्लेले पशुबलीलाई निरुत्साहीत गर्न बारालगायतका जिल्लामा जनचेतना तथा अन्तक्र्रिया कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

यही जेठ ३० गते पशु कल्याणको लागि जनचेतना जगाउन काठमाडौंको रत्नपार्कबाट शान्तिपूर्ण पदयात्रा कार्यक्रम गर्न लागिएको जानकारी गराउँदै उनले पदयात्रामा सहभागी हुन सबैलाई आवहन गरे ।

कार्यक्रममा सहभागीहरुले पशुबलीलाई एकंपटक बन्द गर्न नसकिने भएकाले विस्तारै न्युनिकरण गर्नुपर्ने र पशुबलीको विकल्प खोज्नु पर्ने धारणा राखेका थिए ।

Comments

Top