युरोपको साताव्यापी भ्रमणका लागि प्रधानमन्त्री प्रस्थान (भ्रमण तालिकासहित)

kp sharma  oli

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ युरोपका तीन देशको साताव्यापी भ्रमणमा प्रस्थान गरेका छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत छन् ।

२० सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै ओली स्वीटजरल्यान्डको भियना प्रस्थान गरेका हुन् स्वीट्जरल्यान्डको भियनापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली भियनामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विट्जरल्यान्डको जेनेभा गएका हुन् । उनले त्यहाँ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवाषिर्कीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुने छन् ।

उनले सोमबार आईएलओको शतवाषिर्कीको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली २७ गते सोमबार बेलायतको औपचारिक भ्रमणमा जाने छन् । उनले सोमबार नै अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड युनियनले आयोजना गर्ने शान्ति, प्रजातन्त्र र विकास शीर्षकको कार्यक्रममा सम्बोधन गर्ने छन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरेजा मेसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

बेलायतपछि प्रधानमन्त्री ओली २९ गते बुधबार फ्रान्स जाने कार्यक्रम छ । फ्रान्समा उनले विहिबार त्यहाँका प्रधानमन्त्री एडवर्ड फिलिपसँग द्विपक्षीय भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले ३२ गते शनिबार युरोपभरका नेपाली राजदूतहरूलाई पेरिसमा निर्देशन दिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमण दलमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकर दास वैरागी, परराष्ट्र प्रवक्ता भरतराज पौड्याल, परराष्ट्रका शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी रहेका छन् ।

त्यसैगरी भ्रमण दलमा परराष्ट्रको युरोप अमेरिका महाशाखा प्रमुख घनश्याम भण्डारी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति विमल श्रीवास्तव, नेकपाकी सांसद विन्दा पाण्डेलगायत छन् । ओली १६ जुनमा नेपाल र्फकने छन् ।

Comments

Top