गुठी विधेयकविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप, केही प्रदर्शनकारी घाइते

guthi 1

   काठमाडौं । सरकारले संसद्‍मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको विरुद्ध काठमाडौंको माइतीघरमा भएको विरोध प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वैशाख १६ गते संघीय संसद्मा दर्ता गराएको विधेयकमा गुठी संस्थान खारेज गरी गुठी प्राधिकरण बनाउने व्यवस्था छ।

विरोध कार्यक्रममा काठमाडौं‌ उपत्यकामा रहेका विभिन्न प्राचिन गुठीका गुठियारहरुको पनि सहभागिता थियो । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको हो।

प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते समेत भएका छन्। विधेयक संविधानविपरीत भएकाले खारेज गर्न उनीहरूको माग छ।

मुलुकमा देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन्। परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै सरोकारवालाहरु आन्दोलनमा उत्रिएका हुन् ।

guthi

Comments

Top