ईपीएसका १ सय ५६ जना नक्कली परीक्षार्थी पक्राउ

pakrau

  काठमाडौं । शनिबारबाट शुरु भएको रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षाको दोस्रो दिन ४२ हजार ५६ जनाले परिक्षा दिए । पहिलो दिन शनिबार भने ४२ हजार १ सय ५९ जनाले परिक्षा दिएका थिए ।

जसमध्ये ईपीइस परीक्षामा सहभागी १ सय ५६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पहिलो दिन ४७ जना र आइतबार १ सय ९ जना गरी १ सय ५६ जना पक्राउ परेका हुन् ।

९२ हजार ३५६ जना परीक्षार्थी फर्म भरेको भए पनि यस वर्ष ८४ हजार २ सय १५ जनाले भाषा परीक्षा दिएका छन् । परीक्षामा ८ हजार १ सय ४१ जना अनुपस्थित भएको इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।

कोरियाले आगामी वर्षका लागि औद्योगिक क्षेत्रतर्फ ७ हजार ५० र कृषितर्फ ३ हजार श्रमिकको कोटा निर्धारण गरेर पठाएको छ।भाषा परीक्षाको नतिजा २०७६ असार १३ गते प्रकाशित हुनेछ । परीक्षार्थीले आफूले प्राप्त गरेको प्राप्ताङ्कको जानकारी इपिएसको वेबसाइटबाट हेर्न सक्नेछन् ।

भाषा परीक्षामा उत्तिर्ण परीक्षार्थीले दोश्रो चरणमा स्किल टेस्ट र कम्पेटेन्सी टेस्टमा सहभागी हुनुपर्नेछ । त्यसमा सफल भएमात्रै रोजगार आवेदन फारम भर्न पाउने छन् ।

नेपाली श्रमिक सन् २००८ देखि इपिएस मार्फत कोरिया जान थालेका हुन् । पहिलो वर्ष सन् २००८ मा ३१ हजार ५ सय २५ जनाले भाषा परीक्षा दिएका थिए । हालसम्म इपिएस मार्फत कोरिया जाने नेपालीको संख्या झण्डै ५० हजार नाघिसकेको छ ।

Comments

Top