प्रतिनिधिसभामा उपस्थित हुन नसकेका गृहमन्त्रीले राष्ट्रियसभामा भने –‘माइतीघरको प्रदर्शन शान्तिपूर्ण थिएन’

badal

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को जवाफ माग गर्दै संसद नै अवरुद्ध गर्यो

कांग्रेसको अवरोधका कारण सोमबार मध्यान्ह १२ः५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक अन्ततः सूचना टाँस गरी मंगलबार बिहान ११ बजे बोलाइएको छ ।

कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक अवरुद्ध गरेका थिए। निर्धारित समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्ने भएपछि मंगलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

यद्यपी गृहमन्त्री थापाले आइतबार नै प्रमुख प्रतिपक्षी दललाई उत्तर दिएका छन् । सोमबार राष्ट्रियसभामा सार्वजनिक महत्वको विषयका बोल्दै गृहमन्त्री थापाले भने–‘माइतीघरमा गुठी विधेयकविरुद्ध प्रदर्शन गर्नेहरुको भिड नियन्त्रण गर्न सामान्य बल प्रयोग भएको हो ।’

उनले पानीको फोहरा हान्दासमेत भीड नियन्त्रणमा नआएपछि प्रहरीले सामान्य बल प्रयोग गरेको स्पष्टीकरण दिए । ‘ढुङ्गा हानेर प्रहरीको मुखै फाड्ने काम भएको छ । यो कुनै शान्तिपूर्ण आन्दोलन होइन ।’ गृहमन्त्री थापाले भने ।


प्रदर्शनकारीले सडकमै सुतेर बाटो अवरोध गरेको र प्रहरीले पटक–पटक माइकिङ गर्दा समेत अटेर गरेको उनले बताए । उनले भने–‘कानून विपरीत सडक अवरोध गर्ने र प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेपछि सवारी साधान र सर्वसाधारणको ज्यानको क्षती हुन नदिन प्रहरीले पानीको फोहोरा प्रहार गर्दा समेत भिड नियन्त्रमा नआएकोले सामान्य बल प्रयोग गरी चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो । सोधपुछ गरेर छाडिएको छ ।’

गुठीसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतबार माइतीघरमा प्रदर्शन भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा हान्नुका साथै धरपकड गरेको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका थिए ।

गृहमन्त्री थापाले प्रदर्शन गर्न पाउने लोकतान्त्रिक अधिकारको उपयोग गर्दा प्रचलित कानून, सार्वजनिक हित र नागरिक कर्तव्यप्रति सचेत रहन पनि अपील गरेका छन् । उनले भने–‘हिजो भएको घटनामा कानून विपरीत बल प्रयोग भएको वा नभएको छानबिनबाट आउँछ । त्यसआधारमा आवश्यक कारबाही गर्छौं ।’

गृहमन्त्री थापाले घटनामा केही प्रदर्शनकारी र प्रहरी घाइते भएको जानकारी गराउँदै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

Comments

Top