नयाँ शक्ति र विप्लव माओवादीका नेताहरु माओवादी केन्द्र र एमाले

काठमाडौं : नयाँ शक्तिबाट निश्कासित देवेन्द्र पौडेलसहितका १५ नेताहरुको समूह माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पौडेलसहितका नेता माओवादी केन्द्रमा प्रवेश गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ले कुटेको आरोप लगाउने एक नेता पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नयाँ शक्तिमा पार्टीको नीति विपरीत काम गरेको भन्दै १५ जनालार्इ नयाँ शक्तिका संयोजक बाबुराम भट्टरार्इले पार्टीबाट निकालेका थिए। तिनै नेताहरु माओवादीमा प्रवेश गरेका हुन् । विप्लव माओवादीका पदम खड्का ‘जीवन’ ले भने आफूलार्इ विप्लवले कुटपिट गरेको आरोप लगाउँदै माओवादीमा प्रवेश गरेका हुन्। उनीहरु मंगलबार माओवादीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशपछि बोल्दै नयाँ शक्तिबाट निकालिएका नेता देवेन्द्र पौडेलले नेपालका सबै परिर्वतनकारी शक्तिहरुलार्इ एक हुन कसैले रोक्न नसक्ने बताए। कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुका दाह्रा, नङ्ग्रा, सिङ सबै भाँचिएको बताए। शान्ति प्रक्रियामा आउने बित्तिकै मओवादीलार्इ जनताले सबैभन्दा ठूलो पार्टी बनाएपछि पार्टीका सबै नेतामा एक किसिमको अहम् पैदा भएको र अब बिस्तारै त्यो अहम् मरेर गएको उनले बताए। नेपालको सबैभन्दा ठूलो पार्टी हुँदा ठूला नेताको घमण्डका कारणले पनि माओवादी विभाजन भएको उनको जिकिर थियो। यसैबीच माओवादी केन्द्रले विभिन्न तहका नेता तथा कार्यकर्ता व्यवस्थापनका लागि सातवटा प्रदेशहरुमा रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गरेको छ। कार्यदलमा देवेन्द्र पौडेल, परशुराम तामाङ, मातृका यादव, बामदेव क्षेत्री, महेन्द्र पासवान, कुमार आले, पासाङ शेर्पा, विश्वभक्त दुलाल र विप्लवनिकट नेकपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका पदम खड्का रहेका छन्।  यता, एकपछि अर्को गर्दै नेताहरु बाहिरिएपछि एक वर्षअघि देशको वैकल्पिक राजनीतिक शक्ति बन्ने उदघोषका साथ डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित नयाँ शक्ति पार्टी नेपाल छिन्नभिन्न भएको छ । देवेन्द्र पौडेललगायतका १५ जनो नेताहरु माओवादी केन्द्रमा नै फर्किदा जनयुद्धमा सामेल नभएका वा हिजो प्रचण्डको लाइनको अति पेलानमा परेका दोश्रो तहका करिव २०० कार्यकर्ता भने एमाले प्रवेशको तयारी गरेका छन् । उनीहरूले एउटा वार्ता टोली नै बनाएर एमालेका शीर्ष नेतृत्वसंग वार्ता सुरु गरेको स्रोतको दावी छ । नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य नन्द ढुङ्गानाले माओवादीजस्ता साना बामपन्थी दलमा फर्कनु वा अल्झनुको अब कुनै तुक नभएको भन्दै देशका सम्पूर्ण परिवर्तनकारी, देशभक्त र बामपन्थीहरूको साझाथलो एमालेमा प्रवेश गर्न लागेको संकेत गरेका हुन् ।

Comments

Top