कुनै पनि हालतमा कम्युनिस्ट पार्टीमा फर्किन्न

Ramkrishna 1

   झण्डै ३७ वर्ष माले हुँदै नेकपा (एमाले)मा काम गरेका रामकृष्ण हुमागाइँको मन भाँच्चिएको छ । ललितपुर जिल्लामा तत्कालीन नेकपा (एमाले) को प्रभावशाली नेताका रुपमा परिचित हुमागाइँ दुई पटक गाविस अध्यक्ष समेत भएका थिए । मन भाँच्चिएपछि जेठ २४ गते ललितपुरको लगनखेलमा आयोजित नेपाली कांग्रेसको सभामा हुँमागाइँ सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिएर कांग्रेसमा आवद्ध हुनुभयो । यति लामो कम्युनिस्ट राजनीति छाडेर कांग्रेस प्रवेश गर्नुभएका रामकृष्ण हुमागाइँसँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानी :

० यति लामो समय कम्युनिष्ट पार्टीमा हुनुभएको तपाई के देखेर नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको हो ?
– मेरा कुराहरू सार्वजनिक गरिसकेको छु । मेरो राजनीतिक जीवन भनेको पूर्वमाले त्यसपछि नेकपा(एमाले) हुँदै आएको हो । ०४९ सालमा मदन भण्डारीको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) भन्ने कार्यक्रम आएपछि त्यो कम्युनिस्ट भित्रको पनि डेमोक्रेटिक कार्यक्रम थियो । प्रजातान्त्रिक कार्यक्रम थियो । म त्यसैबाट स्कुलिङ हुँदै आएँ ।

गत साल जेठ ३ गते दुइटा पार्टी नेकपा (एमाले) र माओवादी केन्द्र मर्ज गरेर नेकपा बन्यो । मेरो पार्टी नेकपा (एमाले) सिद्धियो त्यहाँ । त्यति मात्रै भएन कि जनताको बहुदलीय जनबाद पनि स्थगित भन्ने भयो । बैचारिक हिसावमा त्यही ‘जबज’लाई प्रयोग गरेर कम्युनिस्टहरू सरकारमा पुग्ने । २०५१ सालमा सरकारमा पुग्ने । पछि पनि पटक–पटक सरकारमा जाने काम भयो ।

आफ्नो बिचारलाई छाडेर तत्कालिन माओवादी केन्द्रसँग एकताको प्रक्रियामा गएपछि म त्यसमा सहभागी भइन । मैले त्यसको भोलि, पर्सीदेखि हेर्दै गएँ । कम्युनिस्टको जनवादी केन्द्रीयता भन्ने एउटा सिद्धान्त हुन्छ । त्यो हो संगठनात्मक सिद्धान्त । त्यो निर्णय हुनुभन्दा अगाडि आफ्नो बिचार मजाले राख्ने, त्यो जनवाद हो ।

शुरूमा निर्णय गर्नुभन्दा अगाडि जनवाद हुन्छ । निर्णय गरिसकेपछि सबैले मान्नुपर्छ । त्यसलाई केन्द्रीयता भन्ने हुन्छ । केन्द्रीय प्रणाली हुन्छ । माथिदेखि तलसम्म । अहिले केही प्रणाली छैन । देखिएको छैन । केपी ओली र प्रचण्ड दुई जना चक्रवर्ती सम्राटले फरमान जारी गरेपछि त्यो कम्युनिस्ट पार्टी चल्यो । डेढ वर्ष भइसक्यो कुनै कमिटीको बैठक बस्दैन । केन्द्रीय कमिटीकै अवस्था हेर्नुस् ।

अनि यो समग्र हेरियो । र पनि केपी ओलीले योभन्दा अगाडि जुन नाकाबन्दीको विरुद्धमा राम्रोसँग उभिनु भएको थियो । त्यसै गरी राम्रो गर्नु हुन्छ भन्ने आशा थियो । तर, यो पटक सरकारमा गएपछि दुई तिहाइको घमण्ड, अनि माओवादीसँग मिसिएपछि हामी जस्ता कार्यकर्ता पनि चाहिने भएन । आफ्ना ‘एस’ म्यानहरू अथवा आफ्ना परिपरिका आसेपासे भन्ने गर्छु म । आसेपासेहरूले भनेपछि त्यहाँ सिद्धियो ।

अहिले भन्नु हुन्छ भने बामदेव गौतम, माधव नेपाल, झलनाथ खनाल जस्ता नेताहरूको पनि यो पार्टीमा सुरक्षा छैन । स्थायी समिति सदस्य रघु पन्तहरूको पनि सुरक्षा छैन भने म जस्ता मान्छेलाई हेर्ने त कुरो भएन । अनि कतिपयले टिकट नपाएको भनेको हुनाले कांग्रेसमा छि¥यो भनेका छन् । एउटा कुरो त जीवनभरि मैले अरुलाई बोकेर हिँड्ने ।

मिठारामलाई दुई पटक जिताउन हिँडे । सुशीला नेपाललाई अर्को पटक जिताउन हिँडे, मधुसुदनले जित्न सक्नु भएन । तर, दुई पटक हिँडे । सधैँ हिँड्ने, सबैलाई जिताउने अनि मेरो पालो चाहिँ कहिल्यै नआउने ? मेरा पनि इष्टमित्र छन्, दाजुभाई छन् ।

छरछिमेकी छन्, शुभेच्छुक छन् । सधैँ तँ झोला बोकेर बुढो हुने भन्ने स्थिति भयो । कमसेकम मलाई यो पटक प्रदेशको टिकट पाइन्छ भन्ने थियो । केपी ओलीले पाउँछस् पनि भन्नुभएको थियो । अन्तिममा आएर त्यो टिकट पनि पाइएन ।

भनेपछि यो कम्युनिस्ट पार्टी पनि नरहने । राष्ट्रलाई पनि यसले राम्रो दिशातिर न लैजाने । अनि म व्यक्तिगत रुपमा मलाई पनि न्याय हुँदैन भने अनि म यो पार्टीमा बसेर यी नेताहरूलाई आदर्श पुरुष मानेर बस्नुको कुनै जरुरी भएन ।

० पार्टी छाड्दै गर्दा कुनै नेताको सम्पर्कमा जानु भएन ?
– मेरो स्वभाव र शैली के छ भने म मेरा कुरा पब्लिकली राख्छु । भोकल्ली राख्छु । अनि म चाकढी गर्न नेताहरूलाई मेरो यस्तो प¥यो हजुर, कमरेड मलाई यो गर्नु प¥यो भनेर चाकढी गर्न जान्न । मैले नौ महिनादेखि निरन्तर आफ्ना असन्तुष्टिहरू सामाजिक सञ्जालमा राख्दै आएको छु ।

बजेट आएपछि विरोध गर्दै आएको छु । मैले त्यतिबेला देखि नै बजेटको विषयमा भन्दै आएको छु । बजेटलाई चुनावी घोषणापत्र हात्ती बनाइयो । नीति कार्यक्रम आउँदा पाडो जत्रो भयो । बजेट आउँदा बोको जत्रो भयो र कार्यान्वयन हुँदा मुसो जत्रो हुन्छ भनेको थिएँ । अहिले त्यस्तै भयो ।

मेरो असन्तुष्टि बुझेपछि जिल्ला र केन्द्रका नेताहरूलाई थाहा थियो । विद्या भण्डारी, केपी ओली, सुरेन्द्र पाण्डेहरू धेरैलाई थाहा थियो । उहाँहरूले वास्ता गर्नुभएन । एक पटक रघु पन्तले फोन गरेर तपाईले मैले सबै बुझेको छु । अन्याय पनि परेको हो । दाजुभाई बसेर कुरा गरौँला, अहिले केही निर्णय नगर्नुस् ।

सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त नगर्नुस् भन्नुभयो । मैले भने–‘तपाईले भन्नुभयो । तपाईलाई नेता मान्छु । तपाई आफ्नै सुरक्षा छैन मेरो सुरक्षातिर नलाग्नु होला । म मेरो दिमाग र शरीरको मालिक आफै हुँ । आफै निर्णय गर्न सक्षम छु । मैले यो पटक बोल्ड निर्णय गर्छु । राजनीतिक कोर्स करेक्सन गर्छु ।’ कांग्रेसमा जान्छ वा जाँदैन उहाँलाई पनि थाहा थिएन । यो एक वर्ष मेरो पनि संक्रमणकाल हो । एक वर्ष म कुनै पनि पार्टीमा थिइन ।

० कांग्रेसमा चाहिं किन प्रवेश गर्नुभयो त ?
– सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस । तीन वटा क्रान्तिको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । इतिहाँस कसैले यो होइन भन्न पाएन । २००७ सालको क्रान्ति, २०४६ सालको क्रान्ति र २०६२–०६३ सहित तीन वटा क्रान्तिको यद्यपि अरु पार्टीहरू पनि छन् । ०४६ र ०६२–०६३ को आन्दोलनमा अरु पनि छन् ।

हामी पनि थियौं । नेकपा (एमाले) लगायत अरु पनि छन् । माओवादीको पनि भूमिका छ ०६२–६३ मा । तर, क्रान्तिको नेतृत्व गरेको कसले भन्दा नेपाली कांग्रेसले । सरकारमा जाँदा प्रायः जसो नेपाली कांग्रेसको नेतृत्वमा सरकार गएका छन् ।

गिरिजाप्रसाद कोइराला नेतृत्वमा त कति पटक सरकारमा गएको छ एमाले । सुशील कोइरालाको नेतृत्वमा एमाले सरकारमा गएको थियो । कांग्रेस नेतृत्वको सरकारमा एमाले सरकारमा जान हुने । म चाहिं पुरानो र लोकतान्त्रिक पार्टीमा जान नहुने भन्ने हुन्छ र ? हुनसक्छ कांग्रेस पनि जनताको पक्षमा जति काम गर्नु पर्ने हो त्यति काम गर्न सकेन होला ।

त्यो नेपाली कांग्रेसको कमजोरी हो । कांग्रेसले अब सच्चाउनुपर्छ । त्यस कारणले पनि हारेको हो कांग्रेसले । जनताको मन जितको थियो भने त कांग्रेसले जिति हाल्थ्यो त ।

० कांग्रेसमा आउनु भएको छ । अब तपाईले के जिम्मेवारी पाउनु हुन्छ ?
– कांग्रेसमा मैले दुइटा कुरा खोजेको छु । धेरै कुरा खोजेको छैन । आत्म सम्मान, स्वाभिमान, माया ममता, प्रेम र हार्दिकता टिमभित्र बसेर एउटै एकल कांग्रेस त्यो गुटफुट कुनै पक्षमा भन्दा पनि संस्थागत रुपमा कांग्रेस जाने र यसमा एउटा कुनै ठाउँमा जिम्मेवारी मेरो योग्यता, क्षमता र चाहनाअनुसार जिम्मा दिएर सँगै एउटा टिमको सदस्य भएर जाने मेरो इच्छा छ । मैले पाउँछु भन्ने नै छ ।

सभापति शेरबहादुर देउवा र ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यले कतै स्थान दिन्छौँ भन्नुभएको छ । उदय शम्शेर राण, मीनकृष्ण महर्जन, मथुरा, रविना दाई सबैले तपाई हामी एउटै लेबलको मान्छे हो भन्नुभएको छ । हामीले मिलेर काम गर्नुपर्छ, यहाँ लुछाचुँडी गर्नुपर्ने केही छैन भन्नुभएको छ ।

कांग्रेसमा म कसैको बिकल्पमा आएको होइन । कसैलाई विस्थापित गरेर त्यो ठाउँ लिन पनि आएको होइन । म कम्लिमेन्ट्री परिपुरक हुने हो । उहाँहरू हुँदाखेरी असी किलो हुनुहुन्थ्यो भने म आउँदा ८५ किलो बनाउने । नब्बे किलो बनाउने त्यो परिपुरक बनाउन म आएको हुँ । मलाई आत्म सम्मान, हार्दिकता र क्षमता अनुसारको जिम्मेवारी हुन्छ भन्ने छ ।

भोलिका दिनमा जननिर्वाचित निकायहरूको सन्दर्भमा ‘राईट पर्सन राइट प्लेस इन राइट टाइम’ भन्ने एउटा फर्मुला छ मलाई पठाउँदा पार्टी बलियो हुन्छ भन्ने लागेर जिम्मेवारी दिइयो भने म जिम्मा लिन तयार छु । त्यो जिम्मेवारी कुनै बेला पाउँछु भन्ने मेरो आशा छ । म तमसुक गरेर बचनबद्ध भएर यो पाउने नै भनेर सर्त गरेर आएको छैन । विना सर्त कांग्रेसमा आएको छु ।

० तत्कालीन एमालेका नेताहरूले पार्टीमा फर्कनुस् भनेर आह्वान गर्नु भयो भने के गर्नु हुन्छ ?
– मैले त्यो कल्पनै गरेको छैन । मलाई केपी ओलीले मन्त्री बनाए भने (मन्त्री बनाउन संविधानले दिँदैन), राष्ट्रिय सभामा सांसद बनाउने, केन्द्रीय सदस्य दिने र अर्को एक करोड पैसा दिए पनि मलाई अब अहिलेको नेकपा भन्ने पार्टी चाहिँदैन । म अब कहिल्यै पनि नेकपामा फर्किन्न । कांग्रेसमा धेरैले पाएका छैनन् । कांग्रेसमा के पाउँछस् भन्ने पनि छन् । ५२ वर्षको भएँ ।

मैले ३७ वर्ष राजनीति गरेँ । अब म सक्रिय राजनीति गर्ने भनेको १५ वर्ष होला । त्यति समय म कांग्रेसमा बसेर बिताउन नसक्ने मान्छे होइन । कांग्रेसले केही पनि दिएन, मलाई जिम्मेवारी नदिँदा कांग्रेसलाई न्याय हुन्छ, कांग्रेस बलियो हुन्छ, देशलाई राम्रो हुन्छ भने कुनै जिम्मेवारी नपाए बरु म राजनीति छाड्छु फर्केर नेकपा जान्न । अहिले पनि सामाजिक काम गरिरहेकै छु । त्यहि गरेर बस्छु ।

Comments

Top