काठमाडौं। विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले गुठी विधेयकको विरोधमा असार १० गते काठमाडौं उपत्यका बन्द आव्हान गरेको छ ।
विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आव्हान गरिएको जानकारी गराएको हो।
समितिले विधेयकको विरोधमा असार २ गतेबाटै चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । असार २ गते सो विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ गते विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोधसभा आयोजना गर्ने, ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्टा बजाउनेलगायतका विरोधका कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, असार ५ गते काठमाडौंको बसन्तपुरमा विरोधसभा आयोजना गर्ने, असार ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्नेलगायतका विरोधका कार्यक्रम पनि रहेको समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी दिए।
समितिका सभापति सागर थापाले देशमा धर्मसंस्कृतिविरद्ध श्रृंखलावद्ध आक्रमण भएकाले सबै एकजुट भएर कडा संघर्षमा उत्रने बेला आएको बताए । देशमा धर्ममाथि प्रहार गर्ने षड्यन्त्रका कारण राष्ट्रियता र देशको अस्तित्वनै खतरामा परेकाले सबै सचेत हुनुपर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष डा.रामचन्द्र अधिकारीले मुलुकको धर्म र संस्कृतिनै नष्ट हुने गरी आएको विधेयक तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिए।
पशुपति भण्डारी सेवा समाजका अध्यक्ष केदारमान भण्डारीले धर्मको रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । उनले हिन्दु धर्मविरुद्ध नियोजित रुपमा आक्रमण हुँदै आएको बताए ।
स्वामी रामबाबाले धर्मनाश गर्ने उद्देश्यले गुठी प्रथा सक्ने क्रियाकलाप भएको बताए । बैकटेश्वर पिठाधिष स्वामी पद्मधराचार्यले लामो योजना अनुसार अहिलेका गतिविधि भइरहेको बताए ।
हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले क्रिश्चियन धर्मलाई संरक्षण गरिरहेको भन्दै आपत्ति जनाउँदै आएका थिए ।
Comments