इभेन्टको नाममा अवैध असुली, स्वीकृति नलिई चल्ने इभेन्टप्रति राज्य किन मौन ?

miss see pokhara

यदुनाथ बञ्जारा

  पोखरा । राजधानी काठमाडौंमा आयोजना हुँदै आएका इभेन्टहरु प्रायजसोः विवादित पनि बन्दै गएका छन् । २०७४ मंसिरमा काठमाडौंको दरबारमार्गस्थित डेजाभु नाइट क्लबले विश्व चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट विक्री ग¥यो ।

तर, अन्त्यमा क्लबमा दर्शकहरुको खचाखच भइसकेपछि आयोजकले मार्समेलो नआउने जानकारी गराउँदा तोडफोड समेत भएको थियो । त्यतिबेला प्रहरीले क्लवका सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, राजीव महर्जन, आकाश न्यौपाने र रितेश माडवाडी थिए । यद्यपी अहिले उनीहरु धरौटिमा रिहा भइसकेका छन् ।

त्यसैगरी, केही दिन अघि (जेठ २६ गते) ठमेलस्थित एलओडी क्लबले आयोजना गरेको इभेन्ट पनि विवादित बन्यो । बलिउड पाश्र्व गायिका नेहा कक्कर सहभागी कार्यक्रममा भाँडभैलो मच्चिएपछि प्रहरीले लाठी चार्ज नै गरेको थियो । यतिबेला पनि प्रहरीले आयोजक दीपक घिमिरेसहित तीन जनालाई पक्राउ गरेको थियो ।

कार्यक्रमका लागि घिमिरेले क्षमताभन्दा बढी टिकट बिक्री गरेका थिए । कार्यक्रम गर्ने भनिएको ठमेलस्थित एलओडी क्लबको क्षमता २ हजार जनाको थियो । तर, झन्डै दोब्बर बढीबाट टिकट काटेर पैसा उठाएको प्रहरीले जनाएको छ । कार्यक्रम हेर्न पुगेकामध्ये हजारभन्दा बढी गेटबाहिर नै भएपछि अवस्था बिग्रिएको थियो ।

भित्र जान नपाउनेले त्यहीँ नाराबाजी थालेका थिए । अन्ततः प्रहरीले आयोजका दीपक घिमिरेसहित तीन जनालाई पक्राउ गरेपछि आयोजकले पैसा फिर्ता दिने आश्वासन दिएको छ । यी त प्रतिनिधि घटनामात्र हुन् । यहाँ उठाइएको मुख्य विषय भनेको इभेन्टका नाममा काति रकम उठे र दर्शकले पाउनु पर्ने सेवा र सुविधा पाए वा पाएनन् तथा सरकारले पनि राजश्व पायो कि पाएन भन्ने नै हो । अर्कोतिर विना स्वीकृती इभेन्टको आयोजना गर्दा पनि प्रशासन किन मौन छ भन्ने प्रश्न पनि उत्तिकै टड्कारो रुपमा प्रस्तुत भएको छ ।

यता, गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पनि सुन्दरी प्रतियोगितामा विभिन्न नाममा वहानामा इभेन्ट हुँदै आएका छन् । प्रतिस्पर्धाको रुपमा इभेन्ट गर्ने भनि प्रचार गरिए पनि ति इभेन्टहरु टिकट बेचेको भरमा नम्वर दिएर विजेता बनाउने गरिदै आएको पाइएको छ ।

तर, पनि त्यस्ता आयोजकहरु कारवाहीको दायरामा पर्न सकेका छैनन् । प्रतिस्पर्धीलाई टिकट बेच्न लगाएर तारे होटलमा कार्यक्रम गर्नेहरु कार्यक्रम सञ्चालन तथा स्वीकृति समेत लिने गरेका छैनन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा इभेन्ट सञ्चालनको स्वीकृति लिन गएका छैनन् ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी श्रीनाथ पौडेल भन्छन्–‘कसैले स्वीकृति लिएका छैनन् ।’ तर, पनि मोटो रकम उठाएर निर्वाध कार्यक्रमहरु भइरहेका छन् यस बारे राज्यको मौनता टिठ् लाग्दो छ । तर, जिल्ला प्रशासन भने उजुरी नै आएको छैन भनेर मौन छ ।

जेष्ठ ३२ गते पोखरा ग्राण्ड नामको तारे होटलमा एस टि क्रियसनले मिस्टर एण्ड मिस एस.ई.ई. कार्यक्रम ग¥यो । एक हजार र दुई हजारको टिकट बेचेर आयोजना गरिएको कार्यक्रमको न प्रशासनबाट स्वीकृति लिइएको थियो न आन्तरिक राजस्व कार्यालयबाट अस्थायी भ्याट दर्ता नै ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले कुनै पनि इभेन्ट, मेला वा महोत्सव गर्दा टिकट बेचेर गरिने अस्थायी भ्याट दर्ता स्वीकृति लिनुपर्ने बताउँछन् ।

उनले भने–‘दर्ता स्वीकृति नलिइ इभेन्ट गरिएको पाइएमा अनुसन्धान गरी नियमानुसार कारवाही गरिने छ । मिस्टर एण्ड मिस एस.ई.ई. का आयोजक एसटि क्रियसनले विक्री गरेको टिकटमा नम्वर समेत नराखिएको पाइएको छ । सञ्चालक सुरज थापाले कति टिकट विक्री भयो भन्ने बारेमा खुलाउन चाहेनन् ।

त्यस्तै असार ७ गते इभेन्ट फर युले फेरि अर्को मिस एसइइ गर्दैछ । उसले सहभागीलाई ३ सय रुपैयाँको टिकट बिक्री गरिरहेछ । छैठौं मिस एसइइ पोखरा सभागृहमा हुने आयोजना संस्थाका विशाल गुरुङले बताए ।

टिकटमा कर्ण दाशको कन्सर्ट समेत रहेको उल्लेख छ । उक्त कार्यक्रमका प्रायोजकले कर दर्ता र स्वीकृति लिएको सञ्चालक विशाल गुरुङले बताएका छन् । यसको आधिकारिक पुस्ट्याई हुन बाँकी छ ।

यि दुई वटा इभेन्ट नमूना प्रस्तुती मात्र हुन् । पोखरामा विभिन्न समयमा इभेन्ट, मेला महोत्सव हुँदै आएका छन् । तर ति कति कानून सम्मत छन् कति छैनन् भन्ने बारेमा राज्यका निकायले लेखाजोखा राख्नु पर्छ ।

जुन सुकै संस्था आयोजक भएपनि टिकट काटेर गरिने कार्यक्रम नाफामूल्क नै हो । अझ प्रतिस्पर्धात्मक भनिने कार्यक्रमहरु टिकट वेचेर र एसएमएसबाट गरिने छनोट निस्पक्ष हुन नसक्ने जानकारहरु वताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित