हनुमन्ते नदि सफाइ अभियानको ६९औं हप्तामा हनुमन्ते करिडोरको स्थलगत निरीक्षण

H69
भक्तपुर ।

‘उठौं, जागौं हनुमन्ते नदि सफा गर्न सबै लागौं’ भन्ने मुल नाराका साथ शुरु भएको हनुमन्ते नदि सफाइ अभियानले बुधबार ६९औं हप्ता पूरा गरेको छ । अभियान अन्तर्गत आजको कार्यक्रममा राधेराधे स्थित हनुमन्ते पुल आसपासका क्षेत्रमा बाढीले हुने असर र हनुमन्ते नदीलाई कसरी फोहर मुक्त ढल मुक्त नदी बनाऊन सकिन्छ भनि स्थलगत निरीक्षण एवम् अवलोकन गरियो ।


वर्षायामको सुरुवातसँगै विगतका वर्षझैं फेरि पनि बाढिको समस्याले भक्तपुरबासीमा पर्न जाने खतारालाई मध्यनजर गर्दै आजको कार्यक्रममा छिटो भन्दा छिटो करिडोर निर्माण सम्पन्न गराउन दबाब दिने उद्देश्यसहित अवलोकन गरिएको सफाइ अभियानका उत्प्रेरक रुद्र पौडेलले बताए ।


जिल्ला समन्वय समितिका भक्तपुरका उपप्रमुख सरिता कुँवर, सफाई अभियानका सह–संयोजक एवम् सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधीकर्मी, थिमी बृत्तका प्रहरी प्रमुख डिएसपी शान्ताराज पोखरेल, समानान्तर निर्माण कम्पनीका प्रतिनिधि, सफाइ अभियानका अभियान्ताहरुसहित स्थानीबासीको उपस्थितमा करिडोरको स्थलगत निरीक्षण गरिएको हो ।


निरीक्षणका क्रममा निर्माण कार्यमा भइरहेको ढिलासुस्ती र अवरोधका कारण फेरि पनि अघिल्लो वर्ष झैं यो वर्ष पनि भक्तपुरबासीले बाढिको समस्या झेल्नु पर्ने सम्भावना रहेको भन्दै सम्बन्धित निकायको ध्यानकर्षण गर्ने निर्णय समेत गरिएको छ । अनुगमनका क्रममा राधेराधेमा रहेको माइ सप नामक कपडा धुलाई कम्पनीबाट निस्किएको प्रदुषित पानी सिधै हनुमन्तेमा मिसाइएको पाइएपछि कम्पनीलाई सचेत गराइएयो भने मध्यपुर नगरपालिकालाइ जानकारी गराउने पनि निर्णय भएको छ ।


स्थलगत अनुगमनका क्रममा डिएसपी पोखरेलले आफ्नो तर्फबाट सफाई अभियानमा सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । सफाई अभियान अन्तर्गत आजको कार्यक्रममा स्थलगत अनुगमन गर्ने क्रममा सरसफाई पनि गरिएको थियो । अनुगमनले हनुमन्ते नदि सफाई अभियान ६९ हप्तासम्म आइपुग्दा तुलनात्मक रुपमा पहिलेको भन्दा निकै सफा भएको निष्कर्ष निकालेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता एबम् भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद महेश बस्नेतको अगुवाई एवम् सूर्यविनायक नगरपालिकाको संयोजनमा सञ्चालित हनुमन्ते नदि सफाई अभियान समग्र भक्तपुरमा सफाई सम्बन्धि चेतना बृद्धि गरेको स्थानीयबासीहरुको बुझाई छ ।


अनुगमनमा सूर्यविनायक नगरपालिका–८ का अध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक किरण थापा, सफाईदूत एवम् वरिष्ठ निर्देशक मदन घिमिरे, नेपाल रेडक्रस, जीबन बिज्ञान, वेभ ग्रुप, नेप्सेम्याक, पातञ्जल नेपाल, नेपाल फुलबारीका प्रतिनिधिहरु, बिभिन्न संघ संस्थालगायत स्थानीयबासी र सञ्चारकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

Comments

Top