पेनाल्टीमा पराग्वेलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

brazil

  काठमाडौं । ब्राजिल कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पाराग्वेका फाबियन बालबुएना ५८औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भए पनि आयोजक ब्राजिलले त्यसको सदुपयोग गर्न सकेन ।

पेनाल्टी सुटआउटमा ब्राजिलका विलियन, माक्र्विन्होस, फिलिपे कौटिन्हो र गाब्रियल जिससले गोल गरे भने रोबर्टो फिर्मिनोको प्रहार बाहिरिएको थियो ।

पाराग्वेका लागि मिगुएल अल्माइरोन, ब्रुनो भाल्डेज र रोड्रिगो रोजासले गोल गरे भने गुस्ताभो गोमेज र डर्लिस गोन्जालेजको प्रहार गोलमा परिणत हुन नसकेपछि ४–३ ले पराजित हुँदै पराग्वे प्रतियोगिताबाट बाहिरिएको हो । –एजेन्सी

Comments

Top