राष्ट्रिय सुरक्षा नीति २०७५ सार्वजनिक गर्ने तयारी

nationalकाठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा नीति २०७५ सार्वजनिक गर्ने भएको छ। अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि सरकारले परिमार्जित नीति ल्याउने तयारी गरेको हो।

६ महिनाअघि परिमार्जन गरिएको नीति सार्वजनिक नभएपछि विभिन्न कोणबाट बहस र छलफल भएका थिए। सरकारको नियतमाथि प्रमुख प्रतिपक्षी र विज्ञले आशंका गरेका थिए।

यसको सबै पाटो पूरा भएको छ। प्रतिरक्षा नीति बाहिर ल्याइँदैन तर सुरक्षा नीति सार्वजनिक गर्ने नै हो।

नेपाली सेना र अन्य सुरक्षा निकायको पुनःसंरचना गर्दै प्रविधिमैत्री बनाउनुपर्ने सुझाव दिइएको छ। सबै पक्षसँगको परामर्शमा यस्तो नीति सार्वजनिक गर्दा समस्या नआउने भनिएपछि बाहिर ल्याउन लागिएको हो। पुरानो सुरक्षा नीति सार्वजनिक रहे पनि परिमार्जित नीति सरकारले गोप्य दस्ताबेजझैं राखेको आरोप लागेको थियो। यही बेला नेपाललाई पनि जोडेर अमेरिकी रक्षा मन्त्रालयले उसको इन्डो–प्यासिफिक रणनीति सार्वजनिक गरेको छ। यसले गर्दा नेपालमाथि सुरक्षा नीति ल्याउन दबाब परेको हो।

परिमार्जित नीति सार्वजनिक भए सुरक्षाको पछिल्लो पाटो बाहिर आउने विज्ञको धारणा छ। उनीहरूका अनुसार नेपालको भूराजनीतिक अवस्था विश्लेषण गर्न सहज हुनेछ। कानुन मन्त्रालयबाट प्रक्रिया पु-याउँदै नीति छाप्ने काम भइरहेको रक्षा मन्त्रालय उच्च स्रोतले बतायो। सेना र प्रहरीमा पुनःसंरचना गर्दै समयानुकूल प्रविधि र तालिमको निरन्तरताका साथै क्षमता र व्यावसायिकता अभिवृद्धि गरिनुपर्ने सुझाव रहेको परिमार्जित नीति सार्वजनिक हुँदा मुलुकको सुरक्षामा खतरा नआउने विश्लेषण पूर्वसैनिक तथा विज्ञको छ।
नीतिले जनसंख्या, भौगोलिक जटिलता र भूराजनीतिलाई ध्यान दिएको छ। यसलाई सरकारले स्वीकार गरिसके पनि विभिन्न बहानाले बाहिर आउन सकेको थिएन। तर, यसको कार्यान्वयनका लागि विभिन्न निकायमा पु-याइएको थियो।

Comments

Top