धुर्मुस–सुन्तली फाउण्डेशनलाई रङ्गशाला निर्माण शुरु गर्न दबाब

dhurmus

 चितवन । रङ्गशाला निर्माण सहयोग समितिले धुर्मुस–सुन्तली फाउण्डेशनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न दबाब दिएको छ । रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया शुरु गर्न आग्रह गरेको हो ।

 यही जेठ १५ गते रङ्गशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउण्डेशनले काम रोकेको छ । रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्थानीयवासीसँग भएको विवादको टुङ्गो लागिसकेकाले फाउण्डेशनले काम अघि बढाउनुपर्ने बताए ।

 रङ्गशाला निर्माणको काम शुरु भएसँगै आर्थिक सङ्कलनका लागि समितिले प्रक्रिया अगाडि बढाउने उहाँले बैठकमा जानकारी दिए ।


सो अवसरमा मानवअधिकार कानून तथा न्यायिक समितिका सभापति कृष्णभक्त पोखरेलले रङ्गशाला निर्माणका लागि चितवन एकताबद्ध भएको भन्दै फाउण्डेशनलाई काममा आउन आग्रह गरे । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र बन्न लागेको रङ्गशाला देशकै गौरवको आयोजना भएकाले जिल्लावासी एक भएर लाग्नुको विकल्प नरहेको बताए ।

 रङ्गशाला निर्माणका लागि वातावरण तयार भइसकेको र सुरक्षाको व्यवस्थासमेत गरिएकाले कामलाई नरोक्न उहाँले आग्रह गरे । बैठकमा उद्योगी व्यवसायीले रङ्गशाला निर्माणका लागि निजी क्षेत्रले गरेको लगानी पारदर्शी हुने/नहुनेमा चिन्ता व्यक्त गर्दै निर्माणको काम शुरु गर्न आग्रह गरेका थिए ।

 त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा करीब रु तीन अर्ब खर्च गरेर फाउण्डेशनको अगुवाइमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइएको हो ।

Comments

Top